प्राकृतिक तथा सांस्कृतिक रुपमा करबाकेली क्षेत्र अब्बल छ । यसलाई योग तथा ध्यान केन्द्रका रुपमा समेत विकास गर्न सकिन्छ ।
तारानाथ पहारी
म्याग्दीको पुनहिलबाट करबाकेली थान भएर सदरमुकाम बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरेसँगै करबाकेली क्षेत्र स्वदेश तथा विदेशमा चिनिएको हो । आज यो पदमार्ग स्थापित पर्यटन गन्तव्य बनिसकेको छ ।
कन्सेप्ट नेपाल नामक संस्थाको प्राबिधिक सहयोगमा समाजसेवी चामबहादुर पुनको समूहले पदमार्ग पहिचान एवम् ब्रान्डिङ गरेको हो । त्यतिबेला पत्रकार मित्र अमृत भादगाउँलेले मलाई पनि पदमार्ग एक्सप्लोरेसन टिममा सहभागि बन्न प्रस्ताव गरेका थिए । व्यस्तताले त्यतिबेला जान पाइएन । तर, करबाकेली काव्ययात्राले त्यहाँ घुमायो ।
खासमा कोभिड १९ पछि भर्खर पर्यटनले लय लिन लागेका बेला केही महिना कतै नघुमी आफ्नै होटललाई समय दिने निधो गरेको थिएँ । करबाकेली भ्रमणको निम्तो पाउँदा मैले आफ्नो निर्णयलाई बदलें । र, यात्राका लागि तयार बनिहालें ।
पोखराबाट पत्रकार मित्र घनश्याम पौडेल र ताङतिङ गाउँका शिक्षासेवी प्रकाश गुरुङ र म यात्रामा सहभागि हुने खबर पाएँ । काम विशेषले प्रकाश सर जान पाउनु भएन । त्यसैले घनश्यामजी र म कात्तिक १९ गते दिउँसो १ बजे जिरो किलोमिटरमा भेटिएर जाने सल्लाह भयो ।
काठमाडौंबाट आउने टोली हिँडिसकेको थियो । हामीले कुश्मा बजारमा मित्र आर. के. अदीप्त गिरिलाई भेट्ने योजना बनायौं । अपरान्ह गाडीबाट कुश्मामा ओर्लियौं । त्यहाँ गिरिले सयौं वर्ष घरलाई शताब्दी घर नामकरण गरेर संग्रहालय बनाएका छन् ।
शताब्दी घर बाहिर खाजाघर, थिएटर हल आदि निर्माण हुँदैथियो । दार्शनिक मित्र आर. के.ले भावि योजना सुनाए । समग्र कुश्मा नगरलाई कला नगरीका रुपमा रुपान्तरण गर्ने योजना । स्थानीय सरकार र कुश्माबासिले उनलाई बुझिदिएमा त्यो सपना पुरा गर्न सजिलो हुनेछ ।
काठमाडौंबाट आएको गाडी साँझपख कुश्मामा रोकियो । हामी त्यसमा चढ्यौं । गाडीमा गीत गाउँदै बेनीबजारतिर हुइँकियौं । साँझ हाम्रो बास भयो डल्फिन होटलमा ।
बेनीबजारदेखि करबाकेलीसम्म
बिहानै हामीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र उपाध्यक्ष राजेश शाक्यको समूहले सम्मान गर्यो । उनीहरुको सम्मान थापेर हामी उकालो चढ्यौं ।
बेनीबजारबाट मल्लाजको ठाडो उकालो चढ्दा बेलाबेलामा हामी फर्केर हेथ्र्यौं । कालिगण्डकी र म्याग्दी खोलाको किनारमा लमतन्न फैलिएको बेनीबजारले हामीलाई बिदाईका हात हल्लाईरहेको भान हुन्थ्यो ।
कतै गोरेटो त कतै कच्चि मोटरबाटोमा हिँड्दै हामी बाँसखर्कमा पुग्यौं । त्यहाँको सामुदायिक भवनमा मिठो खाना खायौं । गाउँलेलाई हामीले होमस्टेका बारेमा केही सन्देश पनि बाँड्यौं ।
गाउँलेसँग गफिँदा ढिलाई भयो । मित्र सुरेन्द्र राना र म पछाडी पर्यौं । खाना खाइवरी साथीहरु अघि बढिसकेका थिए । सुस्तरी हिँडिरह्यौं ।
साथीहरु चौतारीमा थकाई मारेर बसेका रहेछन् । हामी पनि सुस्तायौं ।
हिँड्दै जाँदा पारि महभिर देखियो । पुन समुदायका कुल देवता करबाकेली बाबासँग जोडिएको भीर । पहिलापहिला त्यहाँ भिर माहुरीको मह काढिन्थ्यो रे ।
हामीले भ्यु पोइन्टबाट भिरलाई हेर्यौं । मित्र भवानी शिलाकारले ड्रोन क्यामेरा उडाएर भिरलाई कैद गरे । हामीले तस्बिर खिच्यौं ।
महभिर गाउँका गाउँले हाम्रो प्रतिक्षामा बसेका रहेछन् । हातहातमा माला बोकेका उनीहरुले भव्य स्वागत गरे । आखिर आत्मीयता त गाउँमै पाइन्छ । आमा समूहले हामीलाई स्थानीय उत्पादनहरु अम्बा, सुन्तला, मौसम आदि खुवाए ।
दिन पनि ढल्दै थियो । खाजासँगै हामीले बेसारको रक्सी पनि खायौं ।
खाजापछि नाकै ठोसिने उकालो सुरु भयो । हामीलाई बास बस्न काफलडाँडा पुग्नु थियो । हिँड्दाहिँड्दै अँध्यारो भयो । मोबाइल फोनको उज्यालोमा गोरेटो पच्छयायौं ।
सबैभन्दा पछाडि चामबहादुर दाई र हर्कबहादुर पुन हुनुहुन्थ्यो । हामीले उहाँहरुलाई कुर्यौं । केहीबेरपछि आइपुग्नु भयो । उहाँहरु पछि पर्नुको कारण बल्ल थाहा पायौं ।
हर्कबहादुर दाइलाई तारन्तार पखाला चलेछ । ज्यान गलेपछि हिँड्नु कसरी ? भवानी भाइले पखाला रोकिने औषधी खुवाए । एकछिनपछि पखाला रोकियो । हामी फेरि उकालो चढ्यौं ।
हामी कछुवा गतिमा उकालो चढ्यौ । २–४ वटा घर देखिने गाउँमा पुग्यौं । यतै घरमा दाईलाई बसाई हामी मात्र उकालो लाग्ने कि भनेर सोच्यौं । त्यतिबेलै माथि काफलडाँडाबाट दाइलाई लिन एकजना भाइ आइपुगे ।
हामीले तिनलाई नजिकको घरबाट तातोपानी लिन पठायौं । हल्का तातोपानीमा जीवनजल राखेर हर्क दाइलाई खुवायौं । ती भाइले ल्याएको खाजा पनि खायौं ।
अनि बिस्तारै उकालियौं । अब हर्क दाइ बोल्न थाल्नु भयो । उहाँले हामीलाई करबाकेली बाबाको बारेमा बताउनु भयो । अँधेरी रातमा करबाकेलीको साहसका कथा सुन्दै हिँड्दा बाटो कटेको पत्तै भएन ।
अन्ततः हामी काफलडाँडामा पुग्यौं । बेनीबाट बिहान करीब ८ः३० बजे हिँडेका हामी राती करीब ९ बजे करबाकेली थानमा पुग्यौं ।
एकछिन साथीसँग रमाइलो गरेर खाना खाइवरी सुत्यौं ।
करबाकेलीदेखि फूलबारीसम्म
बिहानै उठ्यौं । चिया खाएर करबाकेलीको दर्शन गर्यौं । ढुङ्गा नै ढुंगाबाट बनाइएको मनमोहक रहेछ मन्दिर । मन्दिर अगाडि जोडी गरुडका मूर्ति रहेछन् । करबाकेली बाबालाई उद्धार सुनगरुडले गरेको कथा रहेछ ।
करबाकेलीको आँगनबाट धौलागिरि हिमालको लर्कन पनि देखियो । मोबाइल फोनका क्यामेरा, आँखा र मनले तिनका तस्बिर खिच्यौं । खिचिरह्यौं ।
अर्को महत्वपूर्ण कुरा, थान नजिकै पुन समुदायले प्रयोग गरेका हातहतियार, भाँडाकुँडा आदि सजाएर संग्रहालय बनाइएको रहेछ । यसको अध्ययनबाट पुन समुदायको विगत र वर्तमान बुझ्न सकिन्छ ।
करबाकेली इको ट्रेकमा पदयात्रा गर्ने पर्यटकका लागि समेत यो सुन्दर उपहार हो । आखिर यहाँ खाना र बासको पनि समस्या छैन । सामुदायिक पाहुनाघर छँदैछ ।
बिहानको अवलोकनपछि खाना खायौं । हाम्रो स्वागतमा गाउँले जम्मा भैसकेका थिए । उनीहरुले टीका र माला लगाइदिए । त्यसपछि उनीहरुले आफ्नो परम्परागत पुख्र्यौली नाचले हाम्रो स्वागत गरे । बाआमा हरुले गीत गाए । युवा चाहिँ मादलको तालमा नाचे । निकै रमाइलो भयो ।
आफ्नो संस्कृति संरक्षणमा युवा पुस्ताको पनि चासो र चिन्ता देख्दा तारिफ गर्नै मन लाग्यो ।
नाचगानपश्चान दमौलीका गिताङे् सागर उदास दाई र स्थानीय अगुवा रवी गर्बुजा पुनले औपचारिक कार्यक्रम चलाउनु भयो । रवी र चामबहादुर दाइले करबाकेली क्षेत्रको विकास कथा सुनाउनु भयो भने हामीले आआफ्ना रचना र अनुभूति सुनायौं ।
अन्त्यमा हामी सामूहिक रुपमा नाच्यौं । अनि करबाकेलीबाट बिदा भएर उकालो लाग्यौं । करिब दुई घण्टा हिँडेपछि आहाल डाँडा (२,७२० मिटर)मा पुग्यौं । त्यहाँ एउटा राम्रो होटल खुलेको रहेछ ।
डाँडाबाट हामीले सामाजिक अभियन्ता महावीर पुन दाइको नाँगी गाउँ पनि देख्यौं ।
होटलमा हामीले चिया खायौं । केही साथी फूलबारीतिर लागिहाले । मित्र हेमन्त विवश र म साथीहरु भवानी, सुरेन्द्र, चामबहादुर, सागर दाइलाई कुरि बस्यौं । सुरेन्द्र र सागर दाई त एकछिनमै आइपुग्नु भयो ।
चिसो बढ्दै थियो । ज्याकेट लगायौं । फेरि कफीको चुस्कि लिएर हामी पनि अघि बढ्यौं । हामी फूलबारी पुग्दा झमक्कै साँझ पर्यो । अगाडी आएका साथी खाना खाएर आराम गर्दै थिए ।
हामी होटलमा पुग्दा सानो बच्चा रोइरहेको सुन्यौं । उसको खुट्टा तातोपानीले पोलेको रहेछ । होटल सञ्चालक याम दाइ तनावमा देखिनुहुन्थ्यो । हामी पनि भावुक बन्यौं ।
आज हामी जम्मा पाँच घण्टा हिँड्यौं ।
फूलबारीदेखि उल्लेरीसम्म
फूलबारीबाट हिमालको लामो लर्कन देखिन्छ । बिहानै उठेर हामी हिमाल दर्शन गर्न लाग्यौं । फूलबारी एउटा केन्द्र हो, यहाँबाट मोहरे डाँडा, पुनहिल, नागी, करबाकेली जान सकिन्छ ।
बिहानै हिमाल देखिए । धौलागिरिदेखि अन्नपूर्णसम्म । हामील तस्बिरहरु खिच्यौं ।
चिया खाएपछि साथीहरुले पुनहिलको उकालो समाते । भिडियो खिच्न समय लाग्ने भएकाले भवानी, सुरेन्द्र, राजकुमार गजुरेल र म त्यहीँ बस्यौं ।
बिस्तारै हामी पनि उकालो चढ्यौं । फूलबारीबाट पुनहिल, घोडेपानी हुँदै पोखरा पुग्ने हाम्रो कार्यतालिका । पुनहिल (३२१० मिटर)मा पुग्दा हिमाल बादलको घुम्टोभित्र लुकिसकेका थिए । राम्रो दृश्य देख्न पाएनौं ।
पुनहिलले भन्यो, तिमी फेरि अर्को पटक आऊ है ।
केहीबेर पुनहिलमा आराम गरेर हामी घोडेपानीको ओरालो लाग्यौं । त्यहाँ खाजा खाएर ओरालोमा हिँड्यौं । पर्यटकीय सिजन भएकाले आन्तरिक तथा वाह्य पर्यटनको लर्को उकालो चढ्दै थियो ।
हामीले उल्लेरीमा खाना खायौं । त्यहाँबाट जिपमा पोखरा झर्यौं ।
साथीहरु ड्यामसाइड, पोखराको होटल नेचरल्याण्डमा बस्नु भयो । घनश्यामजी र म आआफ्नै गुँडमा फर्कियौं ।
यसरी रमाइलोसँग हाम्रो यात्रा पुरा भयो ।
अन्त्यमा
यात्राबाट घर फर्केपछि चामबहादुर दाइले बेनीबजारमा दिनु भएको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ किताब पढ्न थालें । एकजना अवकाशप्राप्त लाहुरेले जन्मथलोको विकासमा दुई दशकभन्दा बढी समय खर्चिएको कथा । उहाँले काफलडाँडालाई ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक पहिचान दिलाएर संसारभर प्रख्यात बनाउन सफल हुनु भएको छ ।
चामबहादुर दाइकै नेतृत्वमा काफलडाँडा नमुना पर्यटकीय गन्तव्य बनेको छ । उहाँको सत्कर्म पढ्दा र प्रत्यक्ष देख्दा प्रेरणा मिल्छ । योगदानको जीवन बाँच्नु भएका चामबहादुर दाइलाई शुभकामना ।
गाउँ पर्यटनमा रुचि राख्ने हुनाले करबाकेली नमुना पर्यटन गाउँ बनेको पाएँ । यस ठाउँलाई योग तथा ध्यान केन्द्रका रुपमा विकास गर्न सकिन्छ । यसले आर्थिक समृद्धि ल्याउन थप टेवा पुर्याउने छ ।
करबाकेली हातामा गाउँलेले समाजसेवी चामबहादुरको प्रतिमा बनाएर राम्रो गरेछन् । योगदानको जीवन बाँच्नेहरुको सबैले सम्मान गर्नैपर्छ ।
करबाकेली काव्ययात्राको सदस्य बन्न पाउँदा म खुसी छु । मलाई निम्तो दिन पत्रकार मित्र भादगाउँले र यात्राका संयोजक चामबहादुर दाइप्रति आभारी छु ।
मौका मिलाएर म फेरि काफलडाँडा पुग्ने छु ।