लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने अभियान पनि सञ्चालन भइरहेको छ।
पोखरा, १६ भदौं । विश्वकै सबैभन्दा उच्च स्थानमा आयोजना हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते लोमन्थाङमा हुने भएको छ।
समुद्री सतहबाट ४७ हजार मिटर उचाइमा अवस्थित लोमन्थाङको मनमोहक गल्फ कोर्समा आयोजना हुने यो प्रतियोगिताको जानकारी आयोजक मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले आइतबार पत्रकार सम्मेलनमार्फत दिएका छन्।
यस वर्षको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना गल्फरले सहभागिता जनाउने अपेक्षा गरिएको छ। नेपालका उत्कृष्ट चार प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ, जसमा प्रथम, द्वितीय र तृतीय हुने विजेताले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १०हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। एमेच्योर खेलाडीलाई आकर्षक ट्रफी प्रदान गरिनेछ।
यसअघिका संस्करणहरूमा ९ होलमा सीमित रहेको प्रतियोगिता यसपटक १८ होलमा आयोजना हुनेछ। प्रतियोगिताको मुख्य आकर्षण ‘होल इन वान’ का लागि सजावटसहितको घोडा पुरस्कारका रूपमा राखिएको छ, जुन विश्वमै अद्वितीय मानिएको छ। त्यस्तै, विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।
यस वर्षको प्रतियोगिता ‘टी फर क्लाइमेट’ थीममा आयोजना हुँदैछ, जसको मुख्य उद्देश्य जलवायु संकटप्रति विश्वको ध्यानाकर्षण गराउँदै वातावरणीय सचेतना फैलाउनु रहेको आयोजक बिष्टले बताए। प्रतियोगितालाई थप रोचक बनाउन ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ।
प्रतियोगिता सफल बनाउन सरकारी र गैरसरकारी निकायको सहकार्य रहेको छ। लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका रूपमा छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी, सोल्टी पानीलगायतका संस्थाले प्रायोजन गरेका छन्।
आयोजक बिष्टका अनुसार, लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको आकर्षक गल्फ कोर्सका रूपमा स्थापित गरी गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने अभियान पनि सञ्चालन भइरहेको छ।