News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा

'वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौँ भन्दा पनि दिइएन'

म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न रु ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम शुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताउनुभयो । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण शुरु हुन नसकेको हो ।

दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो । औला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अवरोध गरिएको दुखेसो पोख्नुभयो । “खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाइएको”, उहाँले भन्नुभयो, “वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौँ भन्दा पनि दिइएन । वास्तविक कुरा के हो बुझ्नै सकिएन ।”

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताउनुभयो । उहाँका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पाँच वटा शाखा पाइपलाइन बनाएर सिँचाइका लागि पानी वितरण गर्ने योजना छ ।

चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले रिमावासीलाई मनाएर सिँचाइ आयोजना निर्माणमा भएको अवरोध हटाउने बताउनुभयो । “औलामा कृषिको विकासका लागि सिँचाइ प्रमुख आवश्यकता हो”, उहाँले भन्नुभयो, “वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउछौँ ।”

औलाका डेढ सय घरधुरी कृषकले सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको गुनासो गरेका छन् । “गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ”, स्थानीय दिपक पाइजाले भन्नुभयो, “सिँचाइ नभएर हाम्रा खेतबारी बाँझै छन् ।” यहाँका स्थानीयवासील बर्खामा आकाशे पानी र मूलको पानीको भरमा धान खेती गर्छन् । खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाए पनि आकाशबाट पानी नपरे न्यून मात्रामा उत्पादन हुन्छ ।

प्रतिक्रिया