News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

हर्बल हब बन्दै म्याग्दीको दुर्गम स्थान गुर्जा

ध्रुवसागर शर्मा
गलेश्वर, ११ मङ्सिर । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ ।

केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा आएको हो । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको यस गाउँका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गुर्जामा इटालियन जातको स्याउका बिरुवा काठमाडौँदेखि लगेर रोपिएको थियो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् । गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जा गाउँ अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको स्थल हो । गुर्जा गाउँलाई कसैले जोकको रुपमा टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन पनि भन्ने गर्दछन् । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा रहेका छन् । गुर्जाबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा आठ घण्टा पैदलयात्रा गर्नुपर्ने पनि भन्ने गरिन्छ पर्यटक गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन् ।

पर्यटकलाई मन पर्ने गुर्जामा २५८ घरपरिवारले बसोबास गर्दछन् । यहाँ छन्त्यालको जीवनी, सभ्यता र संस्कृति चिनाउन सकिने आँखीझ्याल पनि भएको पर्यटन व्यवसायी राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसङ्ख्यक छन्त्याल समुदायको जीवनशैलीलाई बुझ्न र रमाउन गुजार्मा आन्तरिक तथा बाह्य पर्यटक जान थालेका छन् । गुर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग छ । यो मार्गमा यार्सागुम्बा पाइने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा रहेको छ ।

हिउँदका चार महिना बाक्लो हिउँले ढाक्ने गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटो छन् । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि जङ्गलको बाटो यात्रा गर्नु पर्दछ । गुर्जा पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्षण छ । धौलागिरी हिम शृङ्खलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक वर्ष हजारौँ पर्यटकलाई आकर्षण गराउँदै आएको छ ।

बाँझो जमिनमा जडीबुटी खेती 
जडीबुटीबाट मनग्गे आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन् । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाउन स्थानीयबासीलाई प्रेरित गरेको छ । गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले यसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्ध किसानले उक्त जडीबुटीको खेती सुरु गरेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलोपटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

उहाँले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताउनुभयो । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्ने तथा स्वास्थ्यवद्र्धक जडीबुटीका रूपमा मानिन्छ । बजारमा यसकोे माग उच्च रहेकाले गुर्जामा व्यावसायिक खेती थालिएको बताइएको छ । समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइन्छ । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।

प्रतिक्रिया