News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा

चैत २५ देखि वैशाख १२ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

काठमाडौं, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलन कार्यक्रम घोषणा गरेको छ। एमालेले चैत २५ देखि वैशाख १२ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

जेनजी आन्दोलनको दमनमा लापरवाही गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हालको सरकारले पक्राउ गरेको छ। यो घटनालाई लिएर एमालेका कार्यकर्ताहरु सडकमा आन्दोलन गरिरहेका छन् ।

एमालेले भने यो पक्राउलाई राजनीतिक प्रतिशोध ठानेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले ओली र लेखकको रिहाइका लागि थप आन्दोलन कार्यक्रम तय गरेको हो। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णयबारे महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

  • थप आन्दोलनका कार्यक्रमहरु घोषणा
    चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला,
    चैत २८ गते सबै पालिकास्तरमा विरोध प्रदर्शन,
    वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडाभेला तथा विरोध प्रदर्शन,
    वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभा,
    वैशाख १२ गते काठमाडौंमा केन्द्रीयस्तरको विरोध प्रदर्शन तथा सभा आयोजना गरिने छ।

बैठकले नागरिक समाज, विभिन्न वर्ग र पेसागत संघ–संगठनसँग जिल्ला तथा केन्द्रीय स्तरमा संवाद तथा अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, एमालेले आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय संगठनलाई आह्वान गरेको छ। चाँडै नै केन्द्रीय कमिटी बैठक बस्ने विषयमा पनि छलफल भएको महासचिव पोखरेलले बताए।