News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

‘अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउन कार्यकर्तालाई निर्देशन’

कास्की, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गर्नुभएको हो । उहाँले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गर्नुभयो ।

मासिक रु ६० हजार तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिनुभयो । तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ । कार्यालय उद्घाटनपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्ने बताउनुभयो । कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भनाइ अध्यक्ष नेपालको छ ।

नेकपा (एकीकृत समाजवादी)ले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो । पार्टीका जिल्ला अध्यक्ष आचार्यले जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिनुभयो । जिल्ला कमिटी १८५ सदस्यीय र महानगर कमिटी १४१ सदस्यीय रहेको बताइन्छ । यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्सलगायत जनवर्गीय सङ्गठनको जिल्ला कमिटी गठन भएको बताइन्छ ।