News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति

मिरक्याट पार्क : 'जहाँ खाना, खेल, संगीत र सपनाहरू एकै ठाउँमा जोडिन्छन्'

पोखरा, २६ असोज । पर्यटकीय राजधानी पोखराको लेकसाइड स्ट्रिट नम्बर १७ मा एउटा नयाँ थलो खुलेको छ जसले युवा उद्यमीहरूको फरक सोचलाई साकार पारेको छ। ‘मिरक्याट पार्क’ नामक यो ठाउँ केवल खाने वा घुम्ने ठाउँ मात्र होइन, यो त युवाहरूले आफ्ना व्यवसाय, सिर्जनशीलता र सपनाहरू एकै ठाउँमा जोड्ने जीवन्त मञ्च बनेको छ।

मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईको नेतृत्वमा करिब ४ करोडको लगानीमा निर्माण भएको यो पार्कले ‘मिट, मुभ, मिरक्याट’को अवधारणा बोकेको छ। अर्थात्, मानिसहरूलाई भेट्ने, नयाँ अनुभव साटासाट गर्ने र सँगै अगाडि बढ्ने ठाउँ। पहिले एपका रूपमा मात्र चल्दै आएको मिरक्याट अब भौतिक रूपमै पोखराबाट नेपालभर फैलाउने लक्ष्यसहित अघि बढेको छ।

मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईसहितको टोली ।

यहाँ विभिन्न युवा उद्यमीहरूले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्ने मौका पाएका छन्। पोखरा रोस्ट्री कफीले स्थानीय कफीको स्वादसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्दैछ। लावण्य वेलनेसले स्वास्थ्य र सुन्दरतासम्बन्धी सेवा दिइरहेको छ भने पोराले रोटिसेरी चिकेन र स्म्यास्ड बर्गरको नयाँ स्वाद ल्याएको छ। उमामी मार्टमार्फत कोरियन स्न्याक्स र उत्पादनहरू उपलब्ध छन्। नेशनल ज्योग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति र अनुसन्धानमा रुचि राख्ने युवाहरूका लागि छलफलको मञ्च बनाएको छ।

संगीत प्रेमीहरूका लागि बैदाम जाम, खेलकुदका लागि डिंकहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हब पनि यहीँ छन्। योग, वर्कसप, पोड्कास्ट र सामुदायिक कार्यक्रमका लागि करिब ५० जना क्षमताको बहुउद्देश्यीय हल समेत रहेको छ। छवटा भवनमा फैलिएको यो पार्कले व्यवसायिक कम्प्लेक्सभन्दा धेरै फरक अनुभव दिन्छ, यहाँ फरक रुचि र पृष्ठभूमिका युवाहरू एकअर्कालाई भेट्छन्, सिक्छन् र सँगै नयाँ कुरा सिर्जना गर्छन्।

मिरक्याट डिजिटल प्लेटफर्मले यसलाई अझ शक्तिशाली बनाएको छ। विदेशी यात्रु, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय युवा, गाइड, होस्ट, उद्यमी र क्रिएटरहरूलाई जोड्ने यो प्लेटफर्ममा ट्रेकिङ, एडभेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड-होस्ट कनेक्सन र स्थानीय सिफारिसहरू उपलब्ध छन्।

मिरक्याट पार्क युवा उद्यमीहरूको लागि एउटा उदाहरण बनेको छ–जहाँ परम्परागत व्यवसायभन्दा फरक सोच, सामुदायिक भावना र सिर्जनशीलताले नयाँ बाटो खोल्न सकिन्छ। पोखराको लेकसाइडमा यो नयाँ थलो खुलेसँगै युवाहरूको उद्यमशीलतालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।