News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी

३ वटा पुल र घर–टहरा बगे, ६ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता

गोरखा, २५ असोज । गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको ठूलो पहिरोले थुनिएको बुढीगण्डकी नदी फुटेपछि आइतबार बिहान भीषण बाढी आएको छ। बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित नदी फुटेर आएको बाढीले संरचनाहरू बगाउनुका साथै तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

अहिलेसम्म मानवीय क्षति नभए पनि चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार लेकमा रहेका ५ जना गोठाला सम्पर्कविहीन छन्। बाढीको पूर्वसूचना पाएपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

  • क्षति र प्रभावित क्षेत्रहरूः पुलमा क्षति :
    आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल
    चुमनुव्री गाउँपालिका-३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल
    धार्चे गाउँपालिका-५ माछिखोला र केरौजा जोड्ने झोलुङ्गे पुल
  • संरचना तथा बस्तीमा क्षति :
    चुमनुव्री गाउँपालिका-३ सल्लेरीमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प भवन बगेको छ (उक्त बस्ती सरकारले मुआब्जा दिएर पहिले नै खाली गराइसकेको थियो)।
    चुमनुव्री-३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको छ भने अर्को घरमा बाढी पसेको छ।
    धार्चे गाउँपालिका-५ माछिखोलास्थित तल्लो बस्तीका ५ देखि ७ वटा घर तथा टहराहरू बाढीको चपेटामा परेका छन्।
    सोती बजार क्षेत्रका केही टहराहरूमा क्षति पुगेको छ।
  • उच्च जोखिममा रहेका क्षेत्र :
    धार्चे गाउँपालिका-३ सल्लेरीस्थित २० देखि २२ वटा घर बाढीको उच्च जोखिममा परेका छन्।

६ जिल्लामा उच्च सतर्कता र उद्धार पहलः
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आरूघाट स्टेसनमा बिहान पौने १० बजे बूढीगण्डकीको जलसतह ८.४३ मिटर पुगेको छ, जुन खतराको तोकिएको तह (५ मिटर) भन्दा धेरै बढी हो।

बूढीगण्डकी सिउरेनीटारमा पुगेर त्रिशूली नदीमा मिसिने भएकाले प्राधिकरणले तल्लो तटीय क्षेत्रका गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम गरी ६ वटा जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेका छन्। गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकाय परिचालन भइसकेको जानकारी दिएका छन्।

डनन्यूज ट्रेन्डिङ