News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुश प्रदर्शन

'एकदिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने महासचिव विप्लवको चेतावनी'

मसाल जुलुस :नेपाल बन्दको पूर्वसन्ध्यामा प्रतिबन्धित नेकपा गोरखाले आयोजना गरेको मसाल जुलुस । सो जुलुसमा जिल्ला इन्चार्ज, सेक्रेटेरी लगायतको सहभागिता रहेको थियो ।

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध देशव्यापी रुपमा आयोजना गरेको संघर्षका कार्यक्रम अन्तर्गत भोलि हुने नेपाल बन्दलाई सफल पार्न गण्डक क्षेत्रका सम्पूर्ण जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेपाल बन्दलाई सफल पार्नका लागि सहयोग गर्न गण्डक ब्यूरो इन्चार्ज शिवाले एक प्रेस विज्ञप्ति जारी गर्दै सबैलाई आग्रह गर्नुभएको छ ।

नेकपाका केन्द्रीय समिति सचिवालयका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’, व्यूरो सदस्य विवेक र विशाललाई प्रहरीले गत पुस २९ गते पक्राउ गरे लगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक प्रेस वक्तव्य जारी गर्दै माघ ३ गतेदेखि १० गतेसम्म विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु घोषणा गर्नुभएको थियो ।

नेपाल बन्दको पूर्वसन्ध्यामा गण्डक क्षेत्रका विभिन्न जिल्लाहरुमा मसाल जुलुुस प्रदर्शन गरिएको छ । सो प्रदर्शनमा जिल्ला इन्चार्ज, सेक्रेटरी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

राज्यको फासिस्ट दमनले न्यायपूर्ण संघर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाई पकड्दै गएर एकदिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट पार्न चाहन्छौं भन्दै विज्ञप्ति मार्फत् महासचिव विप्लवले केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने चेतावनी पनि दिनुभएको छ ।

‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खोजी खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौं धरौंटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो’ नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यो निरंकुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरुलाई हामी विेशष अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘ हाम्रो पार्टीपंक्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं ।’

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ