गुल्मी । उपचार खर्च बुझाउन नसक्दा अस्पतालले नैं छोरालाई बन्धक बनाएपछि बुबा सहयोगको याचनासहित सबैसँग हारगुहार गरिरहेका छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेजले उपचारको पैसा तिर्न नसकेको भन्दै सहवीर विकका छोरा १६ वर्षीय सुनिललाई बन्धक बनाएर राखेको हो ।
मजदुरी पेशा गर्ने विक काम गरेर राति घर फर्किने क्रममा रेसुंगा नगरपालिका वडा नं. १३ मा अटो सवारी दुर्घटनामा परेका थिए । तत्कालै उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अहिले डाक्टरले उपचार सकेर डिस्चार्ज गरिसक्दा पनि उपचार खर्च बुझाउन नसकेपछि अस्पताल प्रशासनले सुनिललाई घर जान दिएको छैन । अस्पताल प्रशासनले तीनलाख १५ हजार रुपैयाँ नबुझाएसम्म घर जान नदिने भन्दै अस्पताल भित्रै बन्धक बनाएर राखेको उनका बुबा सहवीरले बताउनुभयो ।
सो दिन अटो दुर्घटनामा परेर चालक रेसुंगा नगरपालिका– १२ का ३० वर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका– २ का १७ वर्षीय सुरज विकको मृत्यु भएको थियो । साथै सँगै अटोमा रहेका अन्य रेसुंगा नगरपालिका– १२ का १७ वर्षीय रमेश खत्री, रेसुंगा नगरपालिका– २ का १६ वर्षीय रोशन परियार र १७ वर्षीय सुनिल विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु.१ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
‘परिवार पाल्न र दैनिक खर्च धान्न पनि धौं धौं छ,’ सुनिलका बुबा सहवीरले भन्नुभयो–‘घाईते छोरा अस्पतालमा बन्धक बनाईएको छ । गरिब र निमुखा बाँचेर पनि काम रहेनछ ।’ बुबा सहवीरले छोरालाई अस्पतालबाट मुक्त गराई दिनका लागि आफ्ना नातागोता, मजदुर संगठन, मानवअधिकारवादी संघसंस्था र सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।
सत्तामा सर्वहारा वर्गको मुक्तिको चर्को नारा उराल्ने कथित कम्युनिष्टहरुको सरकार छ यतिबेला । तर वास्तविक मजदुर र सर्वहारा वर्गका लागि भने कसैले आवाज उठाएका छैनन् । उल्टै मेडिकल माफिया र दलालहरुको चंगुलमा फसेर गरिब र सर्वहारामाथि चरम शोषण र दमनमा उत्रिई रहेको छ कथित कम्युनिष्ट हुँ भन्नेहरुको सरकार ।