News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा

गोरखा, २२ भदौं । गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले घरबारविहीन बनाएका स्थानीय बासिन्दालाई स्थानीय होटलमा आश्रय दिएको छ।

गाउँपालिका वडा नम्बर २ र ४ को सीमामा बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीका कारण पूर्ण रूपमा घरविहीन हुन पुगेका चार परिवारलाई सुरक्षित बासका लागि होटलमा राखिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। उनका अनुसार बाढीपीडितहरूलाई वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गर्दै आएको होटलमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको हो।

आइतबार बिहान साढे तीन बजे थेराङ खोलामा आएको बाढीले चारवटा घर, दुईवटा पुल र एक जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो। विपद्बाट प्रभावित ओर्केन छोटेन लामा, लाक्पा भुटी लामा, नुर्बु वाङग्याल लामा र छिरिङ वाङ्दी लामाको परिवारलाई गाउँपालिकाले तत्काल राहतस्वरूप चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला र चिनीलगायतका खाद्यान्न सामग्रीहरू वितरण गरिसकेको छ।

यसैबीच, बाढीले पुलहरू बगाएपछि मनास्लु पदमार्गमा आवतजावत पूर्ण रूपमा बन्द भएको छ। पदमार्ग रोकिएपछि पर्यटक तथा स्थानीयको सहजताका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी बाटो खुलाउने तयारी थालेको छ। वडा नम्बर ४ का अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा गएको टोलीले घटनास्थलको स्थलगत अवलोकन गरिसकेको छ भने सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो निर्माणको कार्य आजैदेखि सुरु गरिने अध्यक्ष लामाले बताएका छन्।