News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय

काठमाडौं, २६ भदौ । चर्चित सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको बचत अपचलन तथा ठगी प्रकरणमा मुख्य योजनाकार एवं पूर्वसञ्चालक इच्छाराज तामाङलाई अदालतले ५ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराधको कसुरमा तामाङसहित अन्य प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय निर्धारण गरेको हो।

यसअघि भदौ ११ गतेको इजलासले प्रतिवादीहरूलाई कसुर ठहर गरेको थियो भने बिहीबार सजायको फैसला सुनाइएको हो। अदालतले मुख्य आरोपी तामाङलाई ५ वर्ष ६ महिना कैदका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। यस सहकारी ठगी र संगठित अपराधको प्रकरणमा कूल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो कायम गरिएको छ। अदालतले सो सम्पूर्ण बिगो दामासाहीका आधारमा भाग गरी असुलउपर गर्न आदेश दिएको छ।

फैसला अनुसार तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने सोही सजाय लालकाजी गुरूङलाई पनि सुनाइएको छ। यसैगरी, यस मुद्दामा संलग्न अन्य प्रतिवादीहरूलाई समेत विभिन्‍न सजाय निर्धारण गरिएको छ। केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

त्यस्तै, दानहिरा तुलाधरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ। दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान र मुकुन्दप्रसाद नेउपानेलाई जनही ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ।

यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दामा २०८० माघ २१ गते नै इच्छाराज तामाङलाई दोषी ठहर गरिसकेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई तीन वर्ष कैद र एक करोड ७२ रुपैयाँभन्दा बढी रकम जरिवानाको फैसला सुनाएको थियो।

डनन्यूज ट्रेन्डिङ