News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

पोखरा, २७ भदौं । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च (सिएमआर नेपाल)को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित मल्टिमिडिया पत्रकारिता तालिमको पहिलो चरण सम्पन्न भएको छ।

भदौ २० देखि २५ गतेसम्म सञ्चालित ६ दिने भौतिक प्रशिक्षणपश्चात् अब ६ सातासम्म अनलाइन कोर्स जारी रहनेछ। १८ जना पत्रकारहरूको सहभागिता रहेको यस तालिममा प्रशिक्षकहरू विकास कार्की र किरण दाहालले डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता र स्टोरी टेलिङलगायतका विषयमा सहजीकरण गरेका थिए ।

बिहीबार आयोजित समापन कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालले पत्रकारिता समाजको अति संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै भाइरल बन्ने होडबाजीलाई चिर्दै व्यावसायिक र जिम्मेवार पत्रकारितामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले यसप्रकारका कोर्सको सुरुवातसँगै कार्यालयले नयाँ इतिहास रच्न लागेको बताउँदै यसले समाचार कक्षलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरिन् । सोही अवसरमा उनले गण्डकी प्रदेशमा अनलाइन दर्ता तथा नवीकरणका लागि असोज मसान्तसम्मको समयसीमा रहेको जानकारी गराईन् । शासकीय सुधार, साक्षर तथा समन्वय महाशाखाका सचिव छवि रिजालले समाज रूपान्तरणमा पत्रकारहरूको भूमिका अपरिहार्य रहेको औंल्याए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नागरिकको विश्वास जित्न वास्तविक र तथ्यपरक पत्रकारिता आवश्यक रहेको बताउँदै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गरे । मुख्य प्रशिक्षक विकास कार्कीले यस कोर्सले पत्रकारहरूलाई क्षमताको एक तह माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे भने सहभागी पत्रकारहरू सुष्मा पौडेल, माधव गैरे र कल्पित सुवेदीले सिकाइ अत्यन्तै फलदायी र व्यावहारिक रहेको प्रतिक्रिया दिए।

प्रेस रजिष्ट्रारको कार्यालयले यसअघि पोखरामै डेटा जर्नालिज्म कोर्ससमेत सञ्चालन गरिसकेको छ। कार्यालयले चालु आर्थिक वर्षमा पत्रकारहरूको क्षमता विकासका लागि करिब १० लाख रुपैयाँ छुट्याएको जनाएको छ।

यसैबीच, यस तालिमको प्राविधिक साझेदार ‘सेन्टर फर मिडिया रिसर्च-नेपाल (सिएमआर)’ विगत लामो समयदेखि सञ्चार क्षेत्रको नीतिगत विकास, मिडिया अनुसन्धान र पत्रकारिताको गुणस्तर प्रवद्र्धनमा क्रियाशील स्वायत्त अनुसन्धान संस्था हो। संस्थाले ‘सिएमआर नेपाल–जर्नालिज्म एकेडेमी’ मार्फत डिजिटल, मल्टिमिडिया, डाटा पत्रकारिता, तथ्य जाँच (नेपाल फ्याक्ट चेक), डिजिटल सुरक्षा र विभिन्न फेलोसिप तथा अनलाइन शिक्षण प्लेटफर्ममार्फत पत्रकारहरूको व्यावसायिक दक्षता वृद्धिका लागि काम गर्दै आएको छ।

डनन्यूज ट्रेन्डिङ