News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य समाचार

कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा

पोखरा, पुस ६ । नेपाली साहित्यका प्रयोगधर्मी र चर्चित साहित्यकार कुमार नगरकोटीको कविता तथा सङ्गीतको अनौठो संयोजन ‘यदाकदा ः साङ्गीतिक काव्य सन्ध्या’ आगामी पुस १० गते (बिहीबार) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ ।

कम्युनिकेट टेक्नोलोजी प्रालिको आयोजनामा हुने यो कार्यक्रममा नगरकोटीले आफ्ना पुराना चर्चित तथा नयाँ कविताहरू वाचन गर्नेछन् । उनलाई युवा सङ्गीतकार अनुप तिमिल्सिनाले साङ्गीतिक साथ प्रदान गर्नेछन् ।

साँझ ५ बजेदेखि ७ः३० बजेसम्म चल्ने यो सन्ध्यामा कविता केवल पाठ वा उच्चारणमा सीमित नरही जीवन्त प्रदर्शनको रूपमा प्रस्तुत हुनेछ । नगरकोटीको विशिष्ट ‘लक्जरी लुक’ र शब्दशिल्पलाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रममा सङ्गीत पृष्ठभूमिमा मात्र नभई कवितासँग सहसंवादको रूपमा बग्नेछ ।

कार्यक्रमका परिकल्पनाकार राजन गोदारका अनुसार, व्यस्त दैनिकीबाट थाकेका मानिसहरूलाई यो सन्ध्या ‘आत्मिक विश्राम’ प्रदान गर्नेछ । सशुल्क टिकटमा कविता प्रस्तुत गर्ने यो दुस्साहसको उद्देश्य नेपाली दर्शकको आफ्नै भाषा, साहित्य र सर्जकप्रतिको प्रेमको गहिराइ परीक्षण गर्नु पनि हो । गोदार भन्छन्, ‘यदाकदा जीवनको रुटिनबाट विरक्तिएर कल्पना गरिएको यो साँझ हो, जहाँ कविता र सङ्गीतमार्फत मौनता सुन्ने र अँध्यारो अनुभूतिको साझेदारी गर्ने अवसर मिल्नेछ ।’

दार्शनिक र स्वैरकल्पनायुक्त लेखनका लागि परिचित नगरकोटीले कार्यक्रमको तयारीका लागि विगत २१ दिनदेखि शिल्पी थिएटरमा रिहर्सल गरिरहेका छन् । विशेष गरी आफ्नो नयाँ कविता ‘बोहेमियन खानाबदोश’ लाई जीवन्त बनाउन उनले हालै आर्यघाटमा यलम्बर बाजासहित रिहर्सल पनि गरेका छन् ।

साहित्यिक जगतमा नगरकोटी केवल लेखक मात्र होइनन्, एउटा ‘ब्रान्ड’ र ‘दर्शन’ का रूपमा स्थापित छन् । उनको हुलिया र ‘लक्जरी लुक’ लाई कतिपयले फेसन ठान्छन्, तर आयोजकका अनुसार यो स्थापित शैलीहरूप्रतिको उनको ‘भद्र अवज्ञा’ हो । उनको व्यक्तित्व पनि उनका सिर्जनाजस्तै चुम्बकीय र अनौठो छ ।

राष्ट्रिय सभागृहको विशाल मञ्चमा पहिलोपटक आयोजना हुन लागेको यो साङ्गीतिक काव्य उत्सवका टिकटहरू अनलाइन प्लेटफर्म इसेवा र थुप्रै डट कममार्फत खरिद गर्न सकिनेछ ।

डनन्यूज ट्रेन्डिङ