News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो

प्रतिकात्मक तस्विर : एआई

काठमाडौँ, १७ कार्तिक । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएपछि प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा पक्राउ गरेको थियो।

इनमसँग सम्पर्कमा रहेका लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अदालतमा विचाराधीन व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशङ्कामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशनमा असोज ११ मा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र पक्राउ परेका थिए। तर मुद्दा चलाउन मिल्ने प्रमाण नभेटिएपछि उनी रिहा भएका थिए।

चोलेन्द्र निकट बिचौलियाका रूपमा चिनिएका इनमसँग प्रहरीले बयान लिइरहेको छ। पक्राउपछि विशेष ब्यूरोका प्रहरी अधिकृतहरूले पनि उनीसँग सोधपुछ गरेका थिए। सोधपुछका क्रममा इनमले आफूलाई चोलेन्द्रले ‘युज’ (प्रयोग) गरेको जिकिर गरेका छन्। प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘चोलेन्द्र श्रीमान् र उहाँको टिमले मलाई युज गरेको हो।’

‘सेटिङ’मा यस्तो-यस्तो गर्नु भनेर चोलेन्द्रको समूहले नै आफूलाई जोड गरेको इनमले बताएका छन्। बयानमा उनले भनेका छन्, ‘मुख्य त उहाँ नै हो मास्टरमाइन्ड।’ चोलेन्द्रले आफ्नो टिमका न्यायाधीशहरूमार्फत मुद्दामा ‘सेटिङ’ गर्ने गरेको इनमको जिकिर छ। इनमका अनुसार हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र अब्दुल अजिज मुसलमान लगायतका न्यायाधीशहरू जबराका निकट हुन्।

अनुसन्धान अधिकृतसँग उनले भनेका छन्, ‘अरू धेरैको नाम चिन्दिनँ।’ दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा फाइनान्सियल कामका लागि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले आफूलाई प्रयोग गरेको उनको जिकिर छ। जर्मनबाट जलवायु परिवर्तनको विषयमा पीएचडी गरेका इनम भारत, जर्मनी र अमेरिकामा बस्दै आएका थिए।

उच्च सुरक्षा अधिकृतका अनुसार इनमले अमेरिकाको ग्रिनकार्डसमेत लिएका छन्।चोलेन्द्रका छोरामार्फत आफू पूर्वप्रधानन्यायाधीशसँग सम्पर्कमा पुगेको इनमले बताएका छन्। चोलेन्द्रका छोरा र इनम दुवै ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कुलमा पढेका हुन्। एलएको आल्मुनाई मिटमा चोलेन्द्रको छोरासँग भेट भएको उनले प्रहरीसँग बताएका छन्।

चोलेन्द्रका छोराबारे इनमले भनेका छन्, ‘उहाँको छोरा हाम्रो एलएको सिनियर हो, आल्मुनाई मिटमा भेट हुँदा चिनजान भयो।’ छोरामार्फत आफू चोलेन्द्रसँग नजिक भएको इनमले बताएका छन्। नजिक भएसँगै चोलेन्द्रले आफूलाई ‘पोलिटिकल एक्टिभिटिजमा तिमी कनेक्ट हौँ’ भनेको इनमले बताएका छन्।

अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘कांग्रेसका नेताहरूसँग अलि नजिक होऊ भन्नुभो।’ परिवारलाई विदेश लैजान भनेर आफू नेपाल फर्केको, तर जबराले नेताहरूसँग नजिक हुन भनेपछि आफू पछिल्लो समय काठमाडौँमा बस्न थालेको उनले बताएका छन्।

चोलेन्द्रकै आग्रहमा आफू कांग्रेस नेता बालकृष्ण खाणसँग नजिक भएको इनमको भनाइ छ। प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘बालकृष्ण खाणमार्फत नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग चिनजान भयो।’ खाण पूर्वगृहमन्त्री हुन्। उनलाई भुटानी शरणार्थी प्रकरणमा ठगी मुद्दा लागेको थियो।

दीपक भट्टसँग चाहिँ चोलेन्द्रले नै ‘कनेक्ट’ गरिदिएको इनमले बताएका छन्। चोलेन्द्रले भनेअनुसार नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्काले भट्टसँग भेट गराएको इनमले दाबी गरेका छन्। इनमको भनाइ उद्धृत गर्दै प्रहरीका एक अधिकृतले भने, ‘दिपक खड्काले नै चोलेन्द्रकहाँ लिएर गएका हुन्।’

भट्ट र सुलभले मुद्दामा सहजीकरण गर्दा पैसा धेरै दिने भन्दै चोलेन्द्रले आफू दैनिक ‘डिल’ गर्न नसक्ने बताएको इनमले जिकिर गरेका छन्। प्रारम्भिक सोधपुछमा उनले भनेका छन्, ‘भट्टसँग चोलेन्द्र श्रीमान्ले नै कनेक्ट गराइदिनुभएको हो। उनीहरूले धेरै पैसा दिन्छन्, म डाइरेक्ट दैनिक डिल गर्न सक्दिनँ। तिमी तिनीहरूलाई गएर भेट भन्नुभएको हो।’

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठसँग जग्गाको विषयमा इनमको कुरा भएको ह्वाट्सएप म्यासेजमा भेटिएको छ। श्रेष्ठले लालपुर्जाको फोटो उनलाई ह्वाट्सएपमा सेयर गरेका छन्। श्रेष्ठको जग्गा आफ्नो नाममा लिने प्रक्रिया अघि बढेको इनमले अनुसन्धान अधिकृतहरूलाई बताएका छन्।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनीहरूबीच चेकको फोटो पनि सेयर गरेको भेटिएको छ।झापा घर भएका इनमका बुबा राम सापकोटा बुढानीलकण्ठस्थित घरमा बस्छन् भने इनम चाहिँ पानीपोखरीस्थित ‘पानीपोखरी हाइट’ अपार्टमेन्टमा बस्दै आएका थिए।