News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार राजनीति

पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’

'सरकारलाई जानकारी छैन, आईजिपी पोल खुल्ने डरले जबरजस्ती गरेको देखियो'

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री बालेन शाहको सचिवालयले शुक्रबार पत्रकारहरूमाथि भएको धरपकडबारे आफूहरूलाई कुनै जानकारी नभएको र यसमा सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएको छ।

शुक्रबार प्रहरीले तीन जना पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गरेको थियो भने अन्य तीन जनालाई खोजी गरिरहेको थियो। यसबारे प्रधानमन्त्री कार्यालयकी प्रेस विज्ञ एवं सल्लाहकार दीपा दाहालले सञ्चारमाध्यमसँग भनिन्, ‘पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन। यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन। यो घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसक्नुभएको छ।’

एक मन्त्रीले पनि यस विषयमा सरकारलाई जानकारी नभएको बताए। ‘यस विषयमा सरकारलाई जानकारी छैन। नितान्त प्रहरीतर्फबाट काम भएको देखियो। मैले प्रधानमन्त्री कार्यालयमा बुझ्दा उहाँहरूले अनभिज्ञता प्रकट गर्नुभयो,’ ती मन्त्रीले भने।

पक्राउ र खोजीमा परेका पत्रकार
नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल पक्राउ परेका थिए। दाहालका अनुसार उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन भइसकेको छ।

प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरीले केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर खोजी गरेको छ।

मिडिया हाउसमा प्रहरी धरपकड
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई सादा पोसाकमा आएर पक्राउ गरेर साइबर ब्युरोमा बुझाएको थियो। प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा पक्राउ गरेको जनाए पनि आरोप र कानुनी आधारबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।

डिएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई सुरूमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुछ’ भन्दै फोन गरिएको थियो। सामान्य सोधपुछका लागि गएका उनी र मोटिभेट न्युजका शोभराज बराललाई त्यहीँ नियन्त्रणमा राखियो। प्रहरीले उनीहरूलाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट पारेको छैन।

अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको प्रहरी टोली पुगेर प्रधानसम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको थियो। टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइलसमेत नियन्त्रणमा लिएर हेरेको समाचार संयोजक मदन ढुंगानाले बताए। यसअघि बुढाथोकी र विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो। नयाँ पत्रिकाको समाचार कक्षमै प्रहरी टोली पुगेर पत्रकार नवराज मैनालीको पनि खोजी गरेको छ।

एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पक्राउ र खोजी गर्ने क्रम चले पनि यी घटनाबीच कुनै सम्बन्ध छ कि छैन भन्ने खुलेको छैन। प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उजुरी परेको छ कि छैन र पक्राउको आधार के हो भन्ने स्पष्ट विवरण सार्वजनिक गरेको छैन।

पहिलेको चेतावनीसँग सम्बन्ध?
बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो। प्रहरीले विज्ञप्तिमार्फत पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको थियो। शुक्रबारको धरपकड त्यही चेतावनीसँग सम्बन्धित हो वा अलग–अलग अनुसन्धान हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन।

पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर मोबाइल जाँच गर्ने घटनाले पत्रकारको गोपनीयता, समाचार स्रोतको संरक्षण र प्रेस स्वतन्त्रतासम्बन्धी प्रश्न उठाएको छ।

कांग्रेस नेता महरको आपत्ति
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास गरिएको बताउँदै यस्तो कार्यलाई राज्यद्वारा सञ्चालित हुर्मत लिने प्रयासका रूपमा टिप्पणी गरेका छन्। लोकतन्त्रको बर्खिलापमा हुने नियोजित सबै कार्य निन्दनीय रहेको उनको भनाइ छ।

जेन-जी पत्रकार फोरमको माग
जेन-जी पत्रकार फोरम नेपालले विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारमाथि भइरहेको धरपकड प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएको छ। ‘समाचारको विषयमा चित्त नबुझे त्यसको खण्डन गर्ने, कानुनी उपचार खोज्ने र स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी कानुनी प्रक्रियाको अवलम्बन गर्ने बाटो हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने र कार्यालयमै पुगेर खोजी गर्ने कार्य कदापि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

फोरमले संविधानको धारा १७ (विचार तथा अभिव्यक्ति स्वतन्त्रता), धारा १९ (सञ्चारको हक) र धारा २० (पक्राउको कारण जानकारी गराउनुपर्ने र कानुन व्यवसायीसँग परामर्श लिन पाउने अधिकार) को स्मरण गराउँदै कानुनी प्रक्रिया पूरा नगरी पत्रकारमाथि धरपकड गर्न नहुने जनाएको छ। फोरमले पत्रकारहरूलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार र प्रहरीसँग माग गरेको छ। ‘प्रेस स्वतन्त्रता पत्रकारको मात्रै सरोकार होइन। यो लोकतन्त्र, नागरिकको सूचनाको हक र राज्यको जबाफदेहितासँग जोडिएको विषय हो। यसको संरक्षण गर्नु राज्यको दायित्व हो,’ विज्ञप्तिमा उल्लेख छ।