News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

न्यायालयको हुर्मत लिदैं फस्टाएको कानुन व्यवसायी कैं ठगी धन्दा, सहकारी डुब्नुमा कानुन व्यवसायीहरुको पनि संलग्नता

ठगी र विभिन्न काण्डमा संलग्न कानुन व्यवसायीहरु पक्राउ परे पनि अदालतमा हुने सेटिङका कारण सहजैं थोरै रकम धरौंटी बुझाएर थुनामुक्त हुन्छन् । अनेकन् राजनीतिक सेटिङ मिलाएर अन्ततः मुद्दा समेत रफादफा गर्न यस्ता ठगहरु माहिर छन् । पोखराका सन्दर्भमा अधिकांश मुद्दाहरु यसरी नै रफादफा गरिएको छ ।

पोखरा, ८ जेठ । न्यायालय र न्यायाधीशलाई देखाउँदैं मुद्दा जिताई दिने भन्दैं सेटिङका नाममा लाखौं ठग्ने विचौंलियाहरुमा यतिबेला सबैभन्दा अग्रणी स्थानमा कानुन व्यवसायी नै देखा परिरहेका छन् । जसले सहजैं अदालतमा सेटिङ मिलाएर उन्मुक्ति पाउँदैं आईरहेका छन् ।

लाखौं रुपैयाँको चलखेल गरेर बलात्कार मुद्दामा मेलमिलाप गराउने अधिवक्ता लक्ष्मीप्रसाद घिमिरे, चर्चित भैंसीकाण्ड र हत्याको अभियोग लागेकालाई छुटाउन काल्पनिक पात्र खडा गर्ने अधिवक्ता कमलप्रसाद अर्याल, सहकारी ठगी, राजश्व छली, मिटरव्याजी कारोबार र राष्ट्रिय वन अतिक्रमण गरी अपचलन गर्ने जनकल्याण पराजुली हुन् वा न्यायालयमा सेटिङ मिलाउनु पर्छ भन्दैं सहकारीबाट ५३ लाख रुपैयाँ घुसका नाममा ठगेको आरोपमा यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका ईन्द्रप्रसाद बराल सबैलाई बचाउन पटक–पटक न्यायालयको हुर्मत लिने काम हुँदैं आईरहेको छ ।

‘सानालाई ऐन, ठुलालाई चैन’ भने झैं सर्वसाधारण जनताले न्याय नपाएर अदालतमा बषौंसम्म भौंतारि रहनु पर्ने अवस्थामा कानुन व्यवसायीहरुले सजिलै अपराधबाट उन्मुक्ति पाईरहेका छन् । कानुनी व्यवसायीहरुको पेशागत संगठनको दवाव, आर्थिक सेटिङ र राजनीतिक चलखेललाई चिर्न नसक्दा आज न्यायालय बदनाम भईरहेको छ ।

ठगी र विभिन्न काण्डमा संलग्न कानुन व्यवसायीहरु पक्राउ परे पनि अदालतमा हुने सेटिङका कारण सहजैं थोरै रकम धरौंटी बुझाएर थुनामुक्त हुन्छन् । अनेकन् राजनीतिक सेटिङ मिलाएर अन्ततः मुद्दा समेत रफादफा गर्न यस्ता ठगहरु माहिर छन् । पोखराका सन्दर्भमा अधिकांश मुद्दाहरु यसरी नै रफादफा गरिएको छ । यस्ता ठगहरु न्यायाधीशका अगाडि बहस गरिरहेका दृश्यहरु टुलुटुलु हेर्न जनता बाध्य छन् ।

पोखरामा यतिबेला लाखौं, करोडौं होइन अर्बौं ठगीका मुद्दाहरु अदालतमा पुगिरहेका छन् । यो अवस्थामा अदालतमा एकै प्रकृतिका मुद्दामा पनि फरक–फरक निर्णय भईरहेको सन्दर्भमा हामीले केही वेथितिहरुलाई केलाउन मात्र खोजेका हौं ।

चर्चित भैंसी काण्ड र राजनीतिक सेटिङ:
पोखराको सन्दर्भमा भैंसीकाण्ड भनेर चर्चित घटनालाई एकपटक नियालौं । अधिवक्ता कमलप्रसाद अर्याललाई भैंसी काण्डमा जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी, अपराधिक विश्वासघात तथा लाभ कसूरमा २०७८ फागुन ३ गते मंगलबार अदालतबाट बहस गरेर फर्किने क्रममा पक्राउ ग¥यो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकका रामबहादुर परियारलाई भैंसी हराएको सम्बन्धी मुद्दामा न्यायाधीशसँग सेटिङ मिलाएर जिताई दिने भन्दैं अधिवक्ता अर्यालले शुरुदेखि नैं रकम लिदैं आईरहेका थिए । अधिवक्ता अर्यालले भैंसी चोरी सम्बन्धी मुद्दामा न्यायाधीश दण्डपाणि शर्मालाई खुशी पारेर मुद्दा जिताई दिन्छु भन्दैं रकम लिईरहेका थिए ।

भैंसी काण्डमा बदनाम भएका तत्कालिन पोखरा महानगरपालिकाका समेत कानुनी सल्लाहकार रहेका कानुन व्यवसायी कमलप्रसाद अर्याल

तर, अधिवक्ता अर्यालले ती गरिब किसानसँग अदालतबाट मुद्दा हारिसक्दा पनि मुद्दा जितियो भन्दैं रकम लिन नछोडेपपछि पीडित सप्रमाणसहित प्रहरीकोमा पुगेका थिए । तर जाहेरवाला र वकिल एकै दलका भएपछि ठगेको रकमवापत क्षतिपूर्ति बुझ्न बाध्य बनाउँदैं अर्यालकी पत्नी बिन्दा अर्यालले पीडित परियारलाई पैसा बुझाएपछि महान्यायाधिवक्तालाई दवाव दिई मुद्दा नचलाउने निर्णय गराउन सफल भएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ को उपदफा (३) बमोजिम प्रहरीले अदालतमा अधिवक्ता अर्याललाई पक्राउ गर्नका लागि अनुमति मागेको थियो । सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने अवस्थामा तत्कालिन गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी लगायतको समूहले अर्याललाई जोगाउन ठुलो चलखेल गरेका थिए ।

ज्यान मुद्दामा अधिवक्ता कमलप्रसाद अर्यालले रचेको प्रपञ्च र त्यसको नालीबेलीः
नेकपा एमालेसँग आवद्ध अधिवक्ता कमल प्रसाद अर्यालका यस्ता ठगी धन्दाहरु धेरै छन् । ती मध्ये अर्को एउटा घटना हो लाहाचोकका पूर्णबहादुर श्रेष्ठको । उनलाई हत्याको आरोपमा अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । यस मुद्दामा पनि अर्यालले लाखौं रुपैयाँ लिएर काल्पनिक पात्र खडा गरेर मुख्य अभियुक्तलाई जोगाउन अनेकन् प्रपञ्च रचेका थिए । तर न्यायाधीशलाई कानुनी अधिवक्ता अर्यालको नियतमाथि शंका लागेपछि यो प्रपञ्च तुहिएको थियो ।

पूर्णबहादुर श्रेष्ठका दुई दाजुभाइमात्र भएकोमा अधिवक्ता अर्यालले थप १ जना नक्कली भाइ खडा गरी उसलाई फरार रहेको भन्दैं नक्कली कागजपत्रहरु बनाएर मुख्य अभियुक्तलाई जोगाउने प्रपञ्च रचेका थिए । तर धेरै प्रमाणहरुले भने त्यस परिवारमा दुईमात्र दाजुभाइ रहेको र त्यसमध्ये हत्यामा संलग्न पूर्णबहादुर नैं कान्छो भाइ रहेको देखिन्थ्यो । तर हत्यामा संलग्न पूर्णबहादुरलाईलाई गाउँमा बोलाउने नाम कुमार भएपनि हत्यामा संलग्न कान्छो भाइ कुमार श्रेष्ठ रहेको भनि दावी गरिएको थियो । जुन घरबाट २०४५/४६ सालबाटै वेपत्ता भएको कहानी रचिएको थियो । तर यो प्रपञ्च पनि सफल हुन सकेन ।

लाहाचोक घर भएका पूर्णबहादुरसहितको समूहले २०४९ सालमा पर्वतमा एक व्यक्तिको हत्या गरेर फरार भएका थिए । सो मुद्दामा जिल्ला अदालत पर्वतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । हत्या पछि फरार भएका पूर्णबहादुरलाई प्रहरीले २०६९ पुस ३ गते लाहाचोक घरबाटै पक्राउ गर्न सफल भयो । तर यस मुद्दामा अधिवक्ता कमलप्रसाद अर्यालले दुई दाजुभाइ मात्र भएकोमा अर्को १ जना थप गरी ३ जना भएको बनाउँदैं हत्यामा संलग्न पात्रलाई जोगाउन प्रपञ्च रचेका थिए ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुनरावेदन अदालतमा पोखरामा छँदा बन्दीप्रत्यक्षीकरण मुद्दामा वकिलको नियतमाथि शंका लागि ९ औं पटक पेशी चढेको मुद्दा समेत खारेज गरिदिएका थिए । त्यतिबेला कमलप्रसाद अर्यालसँगैं काठमाडौंबाट आएका अधिवक्ता टीकाराम भट्टराई पनि यस प्रपञ्चमा संलग्न थिए ।

सहकारी ठगी, राजश्व छली लगायतमा संलग्न अधिवक्ता जनकल्याण पराजुलीः
सअघि सहकारी ठगी, राजश्व छली, मिटरव्याजी कारोबार र राष्ट्रिय वन अतिक्रमण र अपचलन मुद्दामा महिनौंदेखि फरार रहेका नेकपा एमाले निकट भातृ संगठन प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीका अध्यक्ष एवं मित्र मिलन सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहकारी ठगी, राजश्व छली लगायतमा संलग्न अधिवक्ता जनकल्याण पराजुली

अधिवक्ता पराजुलीका पक्षमा बहस गर्न जिल्ला अदालत कास्कीको ईजलासमा ५० जना भन्दा बढि कानुनी व्यवसायीहरु उपस्थित भएका थिए । न्यायाधीशलाई समेत दवाव दिदैं उनीहरुले अधिवक्ता भएकै कारण ठगी लगायतका अपराधमा छुट पाउनु पर्ने भन्दैं सबैभन्दा कम धरौंटीमा छुटाउन सफल पनि भए । जसको नेतृत्व कानुन व्यवसायीहरु कृष्णबहादुर गुरुङ, हरि सुवेदी र रोहितराज बाँस्तोला लगायतले गरेका थिए । अधिवक्ता पराजुली २०८० फागुन ६ गते धरौंटीमा रिहा भएका थिए ।

सहकारी ठगी र अदालतमा सेटिङ मिलाउने भन्दैं रकम ठग्ने अधिवक्ता ईन्द्रप्रसाद बराल प्रहरी खोरमा:
पोखराको सबैभन्दा धेरै रकम हिनामिना भएको प्राइम सहकारी ठगीमा यतिबेला सहकारीका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता ईन्द्रप्रसाद बराल प्रहरी थुनामा छन् । उनले डेढ अर्ब रुपैयाँ हिनामिना भएको सहकारीका विभिन्न मुद्दा अदालतमा मिलाउनका लागि सेटिङ गर्नुपर्ने भन्दैं ५३ लाख रुपैयाँ भन्दा बढि रकम लिएको तथ्य वित्तीय अनुसन्धानका क्रममा भेटिएको थियो ।

अधिवक्ता ईन्द्रप्रसाद बरालले आधा करोड भन्दा बढि रकम अदालतमा सेटिङ मिलाउनु पर्छ भन्दैं सहकारीबाट घुसवापत लिएको खुलासा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अधिवक्ता बरालका सन्दर्भमा थप अनुसन्धान गरिरहेको छ । पदीय हिसाबले सहकारीलाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्न महत्वपूर्ण सल्लाह दिनुपर्ने व्यक्तिहरु नैं आर्थिक लोभमा फसेर आफूमात्र बदनाम भएका छैनन्, लाखौं सर्वसाधारण जनताहरुको बचतहिनामिना गर्नेमा सहकारीका कानुनी सल्लाहकारहरु पनि प्रमुख दोषी छन् ।

त्यसैगरी, सूर्यदर्शन सहकारीका ठगहरुको गिरोहमा संलग्न रहेका अर्का अधिवक्ता रोहितराज बास्तोलाले शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’को आफू वषौंदेखि कानुनी सल्लाहकार रहेको सार्वजनिक अभिव्यक्ति मिडियामा दिएका थिए । उनै सहकारीको २० करोड भन्दा बढि रकम ठगी गर्ने महेन्द्र भोटेलाई जोगाउन आफ्नै घरमा संरक्षण दिदैं लाखौं रुपैयाँ लिएर अदालतबाट धरौंटीमा छुटाउन सेटिङ मिलाएको भन्दैं सहकारी पीडित बचतकर्ताहरुले जिल्ला अदालत कास्कीबाटै उनलाई लखेटेका थिए । आफ्नो ज्यान जोगाउन अधिवक्ता बास्तोला उनै सहकारी ठग महेन्द्र भोटेलाई कारागार लैजाँदैं गरेको प्रहरीको ट्रकमा लुकेर अदालतबाट भाग्नु परेको थियो ।

यतिबेला पोखरामा कानुन व्यवसायीका परिवार, आफन्त र नजिकका नातागोतालाई समेत यस्ता विकृतिपूर्ण घटनाले लज्जित बनाएको छ । पेशागत धर्म भन्दा पनि आर्थिक चलखेलमा रुमल्लिएका कानुन व्यवसायीहरु जुन सुकै दलमा आवद्ध भएपनि लुट्ने काममा र कोही साथी फसिहालेमा बचाउन एकजुट भईहाल्ने दृश्य सबैभन्दा टिठ लाग्दो र घिनलाग्दो देखिन्छ । पेशागत धर्म भित्र रहेर कानुन व्यवसायीहरु अब पनि नचल्ने हो भने आगामी दिनमा यो पेशा र पेशामा आवद्ध भएका पात्रहरुलाई देख्दा घिन मान्दै जनताले आफ्नै मुख छोपेर हिड्नु पर्ने दिन नआउँला भन्न सकिन्न ।