News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

default

पोखरा, १७ असोज । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

पोखरा-३०, ढुङ्गेपाटनस्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो। सभामा उपकुलपति प्राडा देवेन्द्र अधिकारीले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले बजेट प्रस्तुत गरेकी थिइन्, जसलाई सभाले पूर्ण रूपमा स्वीकृत गरेको छ।

पारित बजेट तथा कार्यक्रम अनुसार विश्वविद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेको छ। यसैगरी, डिजिटल सेवा प्रवाह र व्यवस्थित प्रशासनिक प्रणालीमार्फत विश्वविद्यालयलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

साधारणसभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिकशास्त्र तथा कानुन सङ्काय’ स्थापना गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। साथै, ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा विस्तार गरिएको कार्यलाई पनि सभाले अनुमोदन गरेको छ। यस बाहेक, बीई मेकानिकल, बीआईसीए, बीबीए फाइनान्सलगायत विभिन्न शैक्षिक कार्यक्रमहरूको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्ने निर्णयसमेत सभाबाट स्वीकृत भएको छ।

सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले देशका विश्वविद्यालयहरूले आआफ्नो विशिष्टताका आधारमा छुट्टै पहिचान निर्माण गर्नुपर्ने बताए। उनले गण्डकी प्रदेशको भौगोलिक तथा प्राकृतिक सम्भावनालाई मध्यनजर गर्दै साहसिक पर्यटनजस्ता नयाँ क्षेत्रहरूमा लक्षित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिए। साथै, समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्न तथा विद्यार्थीहरूबाट लिइएको शुल्क अनुसार गुणस्तरीय प्रयोगशाला, पुस्तकालय लगायतका आधारभूत शैक्षिक सुविधा सुनिश्चित गर्न उनले विश्वविद्यालय प्रशासनलाई कडा निर्देशन दिएका छन्।