News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन

पोखरा, २ असोज । पोखरा-१८ स्थित सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण भएको प्रहरी चौकी औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कुल २ करोड ४० लाख ४५ हजार ९८३ रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त चौकी भवनको उद्घाटन गरिएको हो। २०८१ असार २३ गते निर्माण सम्झौता भई तोकिएको समयमै कार्य सम्पन्न भएको योजनाअन्तर्गत कार्यालय भवन, मेस भवन, शौचालय, प्रतीक्षालय, गेट र पेरिमिटर पर्खाल निर्माण गरिएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सराङकोट क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी चौकीको भूमिका महत्वपूर्ण हुने बताए। उनले प्याराग्लाइडिङ, केवलकार, धार्मिकस्थल तथा होटल–रेस्टुरेन्ट सञ्चालन भइरहेको यस क्षेत्रमा चौकीले शान्तिसुरक्षा सुदृढ बनाउने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले स्थानीयको सहयोगमा भवन निर्माण सफल भएको उल्लेख गर्दै सराङकोट तथा आसपासका क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधि र स्थानीय बासिन्दाको सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न प्रहरी सक्रिय रहने बताए। यो चौकी सञ्चालनले सराङकोट क्षेत्रमा प्रहरी सेवा अझ प्रभावकारी र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।