News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य प्रमुख समाचार मनोरञ्जन

‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो

अब बाँकी छ-यो कथा अझ धेरै आँखामा पुगोस्। किनकि पहाडको माटोले बोकेको यो प्रेम र पीडा, अझै धेरैलाई रुवाउनेछ।

पहाडको काखमा बाँचेको एउटा गाउँ।
परदेशिएको लाहुरेको अधुरो सपना।
परिवारभित्रका नबोलिएका सम्बन्ध,
र त्यही माटोमा उम्रिएको एउटा मौन प्रेम।

पोखरा, ३१ भदौं । मंगलबार पोखराको मिडटाउन सिनेमाजमा जब ‘पेन्सन पट्टा’ को विशेष शो सुरु भयो, हलभित्र बसेका दर्शकहरूले समय बिर्से। दुई घण्टाको कथा सकिएको पत्तै भएन। किनकि यो कथा केवल पर्दामा चल्ने चलचित्र थिएन-यो उनीहरूकै जीवनको ऐना थियो।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ, पोखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुश्माकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गायक तथा प्राज्ञ विनोद बानियाँलगायत राजनीतिक, प्राज्ञिक, सांस्कृतिक र सामाजिक व्यक्तित्वहरूको उपस्थितिले हललाई गहकिलो बनाएको थियो। पोखरेली युवा सांस्कृतिक परिवार, गुरुङ फिल्म एसोसिएसन नेपाल र सांगीतिक कलाकार संघका प्रतिनिधिहरू पनि त्यहाँ थिए।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले शो सकिएपछि भने, ‘यो सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। समाजकै ऐनाजस्तो लाग्यो। मन छुने काम गरेको छ।’ सांसद पञ्चराम गुरुङको अनुभव अझ गहिरो थियो। ‘दुई घण्टा कसरी बित्यो, पत्तै भएन। समाज, परिवार, संस्कार, लाहुरेको प्रेम र जीवन-सबै कुरा जीवन्त देखियो। कलाकारहरूको अभिनयले साँच्चै छोयो।’

सांसद सरस्वती गुरुङले ताङतिङ गाउँका मनमोहक दृश्य र त्यही परिवेशको कथालाई विशेष रूपमा मन पराएकी थिइन्। ‘यो सामाजिक यथार्थवादी चलचित्र हो। गाउँको गन्ध आउँछ।’ मेयर धनराज आचार्यले त चलचित्रलाई ‘भूगोलको अभिलेख’ नै भने। ‘ताङतिङ, भुजुङ, खुदीखोला, बेगनास आसपासका दृश्यहरूले पहाडी जीवनलाई कथासँगै हिँडाएको छ। लेकको भेडीगोठ, गोठालो जीवन, स्थानीय लवज, संस्कृति र परम्परा-सबै जस्ताको त्यस्तै छ। र त्यसबीच एउटा साँचो प्रेमकथा बगेको छ, जसले दर्शकलाई बाँधिराख्छ।’

‘पेन्सन पट्टा’ ले केवल कथा सुनाएको छैन। यसले गुरुङ समुदायको मौलिकता, भूतपूर्व गोर्खा सैनिकका सपना र पीडा, परिवारभित्रका उतारचढाव, पुराना संस्कार र समयसँगै बदलिँदै गएको समाजलाई प्रेमको धागोले जोडेको छ। ताङतिङका डाँडाकाँडा, गाउँको बाटो, लेकको हावा र स्थानीय बोलीले चलचित्रलाई एउटा जीवन्त दृश्य अभिलेख बनाएको छ।

दर्शकहरू भन्छन् -‘यो मनोरञ्जन मात्र होइन।’ यो गाउँको गन्ध हो, पहाडको सौन्दर्य हो, लाहुरेको आँसु हो, परिवारको माया हो र प्रेमको त्यो मौन संवेदना हो, जसलाई पर्दामा उतार्न धेरैले हिम्मत गरेका थिएनन्।

पोखराको विशेष शोले एउटा कुरा स्पष्ट देखायो-‘पेन्सन पट्टा’ ले स्थानीय दर्शकको हृदय छोएको छ। र जब कुनै चलचित्रले समाजकै कथा बोकेर आउँछ, तब हलबाट निस्कँदा मान्छेहरूले मात्र होइन, हृदयले पनि ताली बजाउँछ। अब बाँकी छ-यो कथा अझ धेरै आँखामा पुगोस्। किनकि पहाडको माटोले बोकेको यो प्रेम र पीडा, अझै धेरैलाई रुवाउनेछ।