News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण

पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले पोखराका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन्। धार्मिक आस्थाको जगेर्ना, सांस्कृतिक संरक्षण तथा विद्यालयमा शिक्षाको ज्योति फैलाउने उद्देश्यसहित उनले उक्त सामग्रीहरू प्रदान गरेकी हुन्।

कार्यक्रमअन्तर्गत दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको पत्थरको मूर्ति तथा पोखरा बहुमुखी क्याम्पसलाई सरस्वती मूर्तिको सुरक्षार्थ फलामको छाता हस्तान्तरण गरिएको छ। त्यसैगरी, महेन्द्र माध्यमिक विद्यालय र नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयलाई पनि एक–एक थान सरस्वतीको पत्थरको मूर्ति प्रदान गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य चर्माकारले धार्मिक तथा शैक्षिक क्षेत्रको विकास र विद्याकी देवी सरस्वतीप्रतिको सम्मान अभिवृद्धि गर्न यस्ता सहयोगले विशेष टेवा पुग्ने बताइन्। समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले यो अभियान सञ्चालन गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा धार्मिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

प्राप्त सहयोगप्रति खुसी व्यक्त गर्दै चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले यसले मन्दिरको सौन्दर्य र धार्मिक गतिविधिमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे। त्यसैगरी, नवप्रभात माध्यमिक विद्यालयकी प्रधानाध्यापक माया थापाले विद्यालयमा सरस्वतीको मूर्ति स्थापना हुनु गौरवको विषय भएको बताउँदै यसले विद्यार्थीहरूमा ज्ञान, संस्कार र सांस्कृतिक चेतना बढाउन सघाउ पु¥याउने उल्लेख गरिन्।

स्थानीय बासिन्दाले धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई जोड्ने यस प्रकारको कार्यको खुलेर प्रशंसा गर्दै यस्ता उदाहरणीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

हस्तान्तरण कार्यक्रममा चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेल, पोखरा महानगरपालिका वडा नं. ३ की वडा सदस्य सवि परियार, पोखरा–९ की पूर्व वडा सदस्य राममाया मानन्धर, पोखरा नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रवीन्द्र माकाजु, दरबारन्युजका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कृष्ण रानाभाट, ज्योतिष पण्डित बिशाल चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए।