News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य समाचार

भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’माथि परिचर्चा

पोखरा, १४ फागुन । प्रगतिशील साहित्यकार भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’ संस्मरण सङ्ग्रहको बुधबार विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम कक्षमा परिचर्चा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.कृष्णराज अधिकारीले भीम रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए । साहित्यकार रुपिन्द्र प्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि समीक्षा गर्दै १९ वटा जीवन जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे ।

कृति परिचर्चासँगै रामराज रेग्मी, डा.श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, झलकपाणी तिवारी लगायतका वक्ताले भीम रानाभाटको साहित्यिक यात्रा र योगदानले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनका रचनाहरूले समाजको यथार्थ चित्रण गर्दै, रूपान्तरणको मार्गप्रति पाठकलाई प्रेरित गरेकोले आगामी दिनमा साहित्यिक कृति प्रकाशनका लागि शुभकामना दिएका थिए ।

भीम नेपाली साहित्यमा प्रगतिशील चेतनाका सशक्त हस्ताक्षर हुन् । उनी तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका जामुने २ थान्सिङमा वि.सं. २०२३ सालमा जन्मिएका हुन् र हाल पोखरालाई आफ्नो कर्मथलो बनाएका छन् । साहित्यिक क्षेत्रमा ‘ज्यालादारी’ उपनामले परिचित रानाभाटका रगतका छिर्का मुक्तक सङ्ग्रह २०४९, रङ, रगत र मान्छे कविता सङ्ग्रह २०६४, यही हो मेरो देश मुक्तक सङ्ग्रह २०७०, आँसुको छाल हाइकु सङ्ग्रह २०७३, पग्लदैन सगरमाथा गीत सङ्ग्रह २०७४, र सम्झनाको सेरोफेरो संस्मरण सङ्ग्रह २०८१ कृति प्रकाशित छन् ।

उनी पोखराबाट प्रकाशित मितेरी, प्रयोग, गण्डकी सङ्गम, साहित्य प्रभा, निगालो पत्रिकाका सम्पादक र व्यवस्थापक रहेका छन् । साहित्य शृङ्खला, गण्डकी साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ लागयत दर्जन बढी साहित्यिक संस्थाको नेतृत्व गरेका उनको जीवन शैली र लेखनमा तादम्यता देखिन्छ ।

सङ्गम साँस्कृतिक मञ्चका काजी गाउँले र विकास लुङ्गेलीले रानाभाटको शब्द रचनामा स्वागत गीत प्रस्तुत गरेका थिए । गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न परिचर्चा कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने सचिव नारायण मरासिनीले कार्यक्रम सञ्चालन गरेको थिए ।