News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी

काठमाडौं, १७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिवादीहरूसँग प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।

मुद्दामा प्रतिवादी बनाइएकाहरूमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, उपप्रबन्धक (इन्जिनियर) समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालिका निर्देशक विजय थापा, प्राइभेट इन्जिनियर गुरुदत्त थापा र अभियन्त्र कन्सल्टिङ प्रालि (नयाँ बानेश्वर) रहेका छन् ।

महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी बुधबार बयानका लागि अख्तियार कार्यालय टंगाल पुगेकै बेला पक्राउ परेका थिए । उनीहरूलाई अख्तियार परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।

क्यानको स्वामित्वमा रहेको भक्तपुरको नलिन्चोकमा ३२ रोपनी जग्गामा निर्माण गरिएको हेलिप्याडमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नै नगरी ठेक्का प्रक्रिया अघि बढाइएको, अनियमितता भएको र राज्यलाई हानि पु¥याएर व्यक्तिगत लाभ लिएको अख्तियारको अभियोग छ ।
हेलिप्याडको उद्घाटन गत ७ असार २०८१ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरेका थिए ।

आयोजना सुरुदेखि नै विवादित बन्दै आएको थियो । स्थानीय बासिन्दाले विरोध गरेका थिए भने हेलिकप्टर पाइलटहरूले समेत उक्त हेलिप्याडलाई ‘असुरक्षित’ भनेर चेतावनी दिएका थिए ।

अख्तियारले यो प्रकरणमा अनुसन्धान सुरु गरेपछि विभिन्न उजुरी परेका थिए र लामो अनुसन्धानपछि बुधबार मुद्दा दायर गरिएको हो । मुद्दा दर्तासँगै मुख्य प्रतिवादीहरू पक्राउ परेका छन् । विशेष अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

डनन्यूज ट्रेन्डिङ