News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विचार

‘लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको निर्वाचन’

नवराज सापकोटा

लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशनले नयाँ नेतृत्व छान्दै छ । भदौ १८ र १९ लाई निर्वाचन मिति तोकिए पनि कोभिड महामारीका कारण प्रभावित हुने उत्तिकै संभावना पनि छ । संघका करिव एक हजार सात सय ५१ सदस्यलाई जम्मा पारेर निर्वाचन गराउनु संघका लागि महामारीमा ठुलो चुनौती हो । चुनाव हुने भनेपछि त्यतिकै संख्यामा उम्मेदवारका शुभचिन्तक र समर्थकको पनि उपस्थिति हुने देखिन्छ । सदस्य संख्या र निर्वाचन कार्यक्रमका कारण झण्डै चार पाँच हजार मानिसका विचको भेला महाकुम्भ नै हुनेछ । कोभिड संक्रमण पछिल्लो समयमा बढ्दो क्रममा छ । यसरी कोभिड बढी रहँदा स्थानीय प्रशासनले मतदान कार्यक्रमका लागि अनुमति दिने संभावना न्यून रहन सक्छ र केही समय बर्तमान कार्यसमितिकै समयमावधी लम्बिन सक्ने पनि देखिन्छ । निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरिसकेको छ । कोभिडको प्रभाव बढ्दै गयो भने मतदाता नामाबली प्रकाशन सहित उम्मेदवारीको अन्तिम सूची सार्वजनिक पछिको मुख्य कार्यक्रम मतदानको कार्यक्रम पर सर्न सक्ने संभावना पनि उत्तिकै छ । तर कामना गरौं कोभिडको प्रभाव न्यून होस र समयमै नेतृत्व चयन होस् ।

संघले साविक लेखनाथ सहित रुपा र मादीलाई कार्यक्षेत्र बनाएको छ । यी क्षेत्रका व्यवसायीले आफुहरुको भावनाको प्रतिनिधित्व संघमा खोजिरहेका छन् । सानो लगानीमा चिया पसल गर्ने देखी अरबौ रुपैया लगानी गरेका व्यवसायी र उद्योगीहरु संघको सदस्यका रुपमा रहेका छन् । यो विषम परिस्थितिमा विश्वको अर्थतन्त्र प्रभावित भएको बेला नेपालको अर्थतन्त्र प्रभावित नहुने त कुरै भएन देशको अर्थतन्त्र प्रभावित भैरहँदा यस क्षेत्रका व्यवसायी र सर्वसाधारण पनि त्यसबाट अछुतो रहँदैनन् । हुनत देशभरिकै उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघले त यो बेलामा व्यवसायलाई चलायमान र गतिशिल बनाउन कोभिड पछिको अवस्था कुर्नुको बिकल्प छैन । विषम परिस्थितिलाई अनुकुलतामा परिवर्तन गर्दै अगाडी बढ्नु पर्ने अवस्था छ ।

यो महामारी कहिलेसम्म चल्छ र यसले कति जनधनको क्षति पुर्याएर शुन्यमा झर्छ भन्ने अनुमान विश्वका महाशक्ति राष्ट्र र विश्व स्वास्थ्य संगठनले समेत गर्न सकेको अवस्था छैन । महामारीले संभावना बोकेका विभिन्न क्षेत्रका नागरिकको क्षति गरिरहेको छ । यही बिषम परिस्थितिमा निश्चित भूगोल तोकिएको व्यवसायीको संगठनको नयाँ नेतृत्वसँग व्यवसायीहरुले आफ्ना मुद्दासँग सम्वन्धित बिषयमा चासो देखाउनु वा संरक्षकत्व खोज्नु स्वभाविक पनि छ । र आगामी नेतृत्वसँग त्यो आशा पनि रहन्छ । अव आउने नयाँ नेतृत्वका लागि थुप्रै चुनौती छन् । संघका सदस्यहरुको हकहित र विभिन्न समस्यामा पैरवी एवं राज्यका विभिन्न निकायमा नीतिगत निर्णयमा लविङ गर्ने, सहुलियत, छुट, व्यवसायीक समस्या र व्यवस्थापन, कर तथा राजश्वका क्षेत्रमा सुझाव कोभिडबाट प्रभावितको लगत र तथ्यांक संकलन, पलायन भएका व्यवसायीलाई स्थापित र लगानी नोक्सानीले पारेको प्रभाव लगायतका बिषयमा गहन अध्ययन र प्रतिवेदनको खाँचो छ ।

साथै संघको दैनिक प्रशासन व्यवस्थापन, संघलाई आर्थिकरुपमा सबल बनाउनका लागि श्रोतको खोजी र पहिचान एवं परिचालन, मेला महोत्सव गर्न नसकिएको अवस्थमा त्यसको बिकल्प, विगतमा संघले लिएका केही पहिचान दिने योजनालाई कार्यन्वयन गर्नु पनि आगामी नेतृत्वका लागि चुनौती उत्तिकै छ । हरेक चुनौतीले एउटा खारिएको सबल र सक्षम नेतृत्व निर्माणलाई सहयोग पुर्याउँछ । त्यसलैले यो विषम परिस्थितिमा संघको नेतृत्व हाँक्न आउने टिमले कठिन परिक्षा दिनु पर्नेछ र चेम्बरमा नयाँ इतिहास रच्ने अवसर छ । यी यावत बिषयलाई सही ढंगले व्यवस्थापन गर्न सकेन भने एउटा कार्यसमिति निर्वाचितका लागि निर्वाचित मात्रै हुनेछ ।

अब संघको आगामी नेतृत्वको बिषयमा कुरा गर्दा अहिलेको कार्यसमितिका अधिकांसले पुन रुची देखाएको स्पष्ट छ । अध्यक्ष सहितका पदाधिकारी र सदस्यहरुमा पुरानाकै बर्चश्वको संभावना रहीरहँदा नयाँ नेतृत्व बिकासको घेरा साँघुरो हुने निश्चित छ । यसरी हेर्दा माथिल्ला पदहरुमा अहिले जो जुन पदमा रहेका छन् तिनीहरुको एक तह बढुवा हुनेछ । कर्मचारी प्रशासनकै शैलीमा एक तह बढुवाले नेतृत्वमा आउन चाहना राख्ने नयाँ पुस्ताको क्षमता र योग्यता मापन गर्ने आधार बन्द गरिएको जस्तो हुनेछ । योग्यता र क्षमता भएका नयाँ व्यवसायीलाई सिण्डीकेटका नाउँमा नेतृत्वमा आउनबाट बञ्चित गरियो भने संघको पछिल्ला बर्षहरुमा आउने नेतृत्व पुरातन सोच र शैलीकै पक्षधरता हुनेछ । र त्यतिबेला अहिले गरिएका क्रियाकलापको समिक्षा मात्र गर्ने बाहेक अरु नरहला ।

यसर्थ कोषाध्यक्षमा मात्रै वढुवाका लागि निवेदन हाल्ने दवाव र प्रभाव रहने र अधिकांस सदस्यहरु पुरानै अनुहार दोहोरियो भने तिनिहरुको नेतृत्व क्षमता र दक्षतामा गंभिर प्रश्न उठ्न सक्छ । र मताधिकार राख्ने सदस्यले तिनीहरुलाई योग्य ठानिरहनु पनि जरुरी मान्ने छैनन् । कार्यसमितिमै दुई वा तीन कार्यकाल दोहोर्याईरहनुमा कि उ माथिल्लो पदका लागि आफुलाई योग्य ठान्दैन वा पाइपलाईनका कारण उसले क्षमता देखाउन सकेन भन्ने रुपमा लिन सकिन्छ । कार्यसमितिमा दुई तीन कार्यकाल दोहोर्याउने र आफुलाई नेतृत्वका लागि तयार गर्न नसक्नेलाई सदस्यहरुले पुन अनुमोदन गर्नु पर्छ भन्ने आधार पनि देखिदैन ।

उ आफैले माथिल्लो पदमा योग्य छैन भनेर आँट गर्न सक्दैन भने नयाँ संभावनाका लागि ढोका खोलिदिनु पर्दछ । वा तिनीहरुलाई मतदाताले मतदान प्रक्रियाबाट विस्थापन गर्न सक्नु पर्दछ । विद्यमान कार्यसमितिमा रहेकाहरुबाट पछिल्ला नेतृत्व सबल र सक्षम बन्दैनन भन्ने लाग्छ भने विगतमा विभिन्न कारणले छुटेका संभावना भएका सदस्यहरुलाई पनि यो चुनावबाट स्थापित गर्ने अवसर संघका सदस्यहरुका लागि सुरक्षित छ । यसका लागि प्रबृति र पात्रहरुलाई परिवर्तन गर्न परेपनि अग्रजहरु समेत तयार हुनु पर्दछ ।

यसमा हस्तक्षेपकारी भूमिका वा सर्वसम्मतका नाउँमा अर्को दवाव सिर्जना गर्नुले नयाँ आकांक्षीहरुलाई निषेध गरिएको सदस्यले ठान्ने छन् । र तिमी यो पदका लागि योग्य छैनौ तिमिले यो पदमा उम्मेदवारी देऊ भन्ने मापन गर्ने आधार नेतृत्वसँग के छ ? उसको क्षमताको मापन गर्ने वा अनुमोदन गर्ने अधिकार मतदातालाई मात्रै छ । संघको नेतृत्वमा जानेले व्यवसायीक संजालको सदुपयोग गर्दै नेतृत्व क्षमताको विकास गर्दै आफ्नै व्यवसायिक प्रतिष्ठान वा उद्योगलाई समेत उच्च आर्थिक हैसियतमा पुर्याउनु हो । न की यसमा लागेकै कारण आर्थिक नोक्सानी भोग्ने अवस्था आउनु हुँदैन ।

अर्को कुरा संघ एउटा नेतृत्वदायी संस्था हो, यसमा काम गर्न अग्रसर हुनु भनेको कार्ययोजना र समय दुवै हुनु जरुरी छ । नेतृत्वमा जान्छु भन्नेको स्पष्ट भिजन, अध्ययन, तर्क, कार्ययोजना र त्यसलाई कार्यन्वयन गर्ने दृढ इच्छाशक्ति चाहिन्छ । आगामी कैययन बर्षका लागि योजना बुनेर अघि बढ्ने नेतृत्व चाहिन्छ जसको प्रभावले नेतृत्वकर्ता र संघकै शाख र गरिमालाई उचो राख्दछ ।
अर्को कुरा व्यवसायीहरुका बिचको प्रतिस्पर्धा पछि हार जित भै हाल्छ, हार्ने र जित्नेका बिचमा पानी वारावारको अवस्था आउने हो भने कस्तो व्यवसायिक नेतृत्वको निर्माण भयो भन्ने अर्को प्रश्न उब्जिन सक्छ ।

मुलत संघ भित्र पनि शक्तिकेन्द्रहरु बन्ने र भत्कने क्रम जारी छ । तर अहिले हेर्दा चार वटा शक्तिकेन्द्रहरुले प्रतिनिधित्व गरेजस्तो देखिएको छ । सवै शक्तिकेन्द्रका आफ्ना आफ्ना चाहना र भोलि आफुले भनेजसरी चलाउन सकिने नेतृत्वलाई स्थापित गराउन खोजेको पनि पछिल्ला गतिविधिले देखाएको छ । निणर्य क्षमता राख्ने, स्वतन्त्र र निष्पक्ष विचारको पृष्ठ पोसक, स्वस्थ आलोचना सुन्न सक्ने धैर्यता र महत्वपूर्ण एवं दुरगामी निर्णयका लागि सवैको अपनत्व हुने गरी बहस र पैरवी गर्न सक्ने नेतृत्वको आवश्यकता छ । पदाधिकारी र कार्यसमितिका सदस्यहरुले समेत बिचार र योजना तर्क र तथ्यका आधारमा पुष्टि गर्छ भने सही मुल्यांकन हुनु जरुरी छ । संस्थालाई गतिशिल बनाउन प्रजातान्त्रीक विधि र पद्दती नै सवैभन्दा उच्चतम शैली हो ।

निर्वाचनमा म कुन पदमा उठ्ने हो भनेर नेतृत्वको मुख ताकेर वस्ने परिपाटीको अन्त्य नभएसम्म नयाँपुस्ता पनि आउँदैन र सक्षम नेतृत्व पनि आउँदैन । बिगतमा गुट वा समूहका नाउँमा केही असल मान्छे चेम्बर भन्दा बाहिर रहेको र भएको पनि देखिएको छ । खोलो तर्यो लौरो विस्र्यो भन्ने उखानको पनि कता कता पुष्टि भएको जस्तो देखिन्छ । हरेक सहयोगीलाई खुड्किलो बनाउने र माथि पुगिसकेपछि भर्याङ फाल्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । बिगतको इतिहासले हरेक पात्रको सही मुल्यांकन र विश्लेषण गर्ला त्यस्ता पात्रहरुलाई समयले कोल्टेमा पारिदिने छ । आकांक्षीलाई शुभकामना ।

(लेखक सापकोटा लेखनाथ उद्योग बाणिज्य संघका साधारण सदस्य हुन् ।)