News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

नेतृत्वका लागि तोडिएन सिण्डीकेट, अधिकांश उम्मेदवार पाइपलाइन कैं

लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भदौ १८ र १९ गते निर्वाचन हुँदै

पोखरा (लेखनाथ) । लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदैं गर्दा नयाँ नेतृत्वका लागि चुनावी सरागर्मी बढेको छ । संघको भदौ १८ र १९ मा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । कोभिड संक्रमणको उच्च जोखिम नभए संघको नयाँ नेतृत्वको लागि निर्धारित समयमै नयाँ नेतृत्व हस्तान्तरण हुनेछ ।

संघको निर्वाचनमा यसपटक पनि संस्थापन पक्षकै सिण्डीकेट र पाइपलाइनकै उम्मेदवारहरु चुनावी मैदानमा देखिदैं छन् । विगतमा सिण्डीकेटको विरोध गर्दै, उदाएको अहिलेको नेतृत्वले पनि त्यही लाईनमा पुगेको छ । संघको वर्तमान कार्यसमितिका पदाधिकारीहरुको एक तह वढुवा जस्तै हुने गरी उम्मेदवारको चर्चा रहेको छ । संघको अहिलेको नेतृत्व समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय अध्यक्षका एकमात्र दावेदार रहेका छन् । संस्थापन पक्ष भन्दा बाहिरबाट उम्मेदवारी नपर्ने प्रायः निश्चित हुँदा आत्रेय निर्विरोध हुने पक्का जस्तै छ ।

वरिष्ठ उपाध्यक्षमा भने वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ र अघिल्लो कार्यकालमा महासचिव रहेका भरतकुमार अधिकारीका विच प्रतिस्पर्धा हुने भएको छ । वर्तमान कार्यसमितिमा नरहेका अधिकारी यसपटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदै कमव्याक हुन चाहेका छन् । वरिष्ठ उपाध्यक्षमै संघकै पुराना सदस्य देवराज पन्थीको समेत उम्मेदवारीको सम्भावना रहेको छ ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको अधिकारी दुई कार्यकाल सदस्य, एक/एक कार्यकाल उपमहासचिव र महासचिव भईसकेका छन्  ।सिण्डिकेट लाद्न खोज्दा र पाईपलाईनमा कुर्दा सक्षम नेतृत्व क्षमता हुँदा हुँदै अघि वर्ष टिममा पर्न सकेका थिएनन् । यसअघि पनि ऋषिराम जमरकट्टेल यसरी नै बाहिरिनु परेको थियो ।

उसो त संघकै एकसमूहले वर्तमान महासचिव गोपीचन्द्र वास्तोलालाई समेत बरिष्ठ उपाध्यक्षमा भिडाउने पक्षमा रहेको श्रोतले बताएको छ । आगामी अध्यक्षका रुपमा समेत हेरिने भएकाले बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । यस्तै प्रथम उपाध्यक्षमा वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले उम्मेदवारी दिने भएका छन् । द्वितीय उपाध्यक्षमा महासचिव गोपीचन्द्र वास्तोला र सदस्य शैलेन्द्र मोहन भट्टराईको चर्चा रहेको छ । बास्तोलाले बरिष्ठ उपाध्यक्ष र द्वितीय उपाध्यक्ष विच जुनमा पल्लाभारी हुन्छ त्यसैमा उम्मेदवारी दिने मनस्थिति बनाएको श्रोतले बताएको छ ।

संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजुको बलियो दावेदार मानिएका छन् । सुवेदीसँगको प्रतिस्पर्धीका रुपमा संघकै कोषाध्यक्ष जानुका अधिकारीलाई पनि विकल्पको रुपमा व्यवसायीहरुले हेरेका छन् । कोषाध्यक्षको भूमिका सफलतापूर्वक निभाएकी र महिला व्यवसायी नेतृ भएका कारण अधिकारीलाई विकल्पका रुपमा हेरिएको हो । पाइपलाइनलाई नै पछ्याउने हो भने अधिकारी उपमहासचिवमा बढुवा हुने छिन् । उसो त महासचिवमा संस्थापन पक्ष भन्दा बाहिरबाट समेत उम्मेदवारी पर्न सक्ने एक व्यवसायीले बताए ।

पदाधिकारी सबैको एकतह बढुवा भएमा खाली रहने एकमात्र पद कोषाध्यक्षमा भने संघका वर्तमान कार्यसमितिका आधा दर्जनले इच्छा देखाएका छन् । कोषाध्यक्षमा तीन पटक कार्यसमितिमा सदस्य रहेकी मेनुका श्रेष्ठ, भिमबहादुर बि.क ‘काईला’, भरत ओझा, धिरज श्रेष्ठ र रामजी पौडेलको चर्चा रहेको छ । यि मध्ये सबैभन्दा बलियो उम्मेदवार भने मेनुका श्रेष्ठ रहेको श्रोतले बतायो । उसो त संघको संस्थापक अध्यक्ष रहेको कर्मचार्य ग्रुपका प्रतिनिधिका रुपमा वर्तमान कार्यसमितिमा प्रवेश गरेका बिक्रम कर्माचार्यलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

संघको कार्यसमिति सदस्यमा भने नयाँ र पुराना गरी झण्डै दुई दर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष सहित संस्थागत सदस्य एक, एशोसियट सदस्य एक, महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ ।

फेरियो निर्वाचन समिति
बाणिज्य संघले यस अघिको निर्वाचन समितिलाई यसपटक परिवर्तन गरेको छ । लामो समयदेखी निर्वाचन गराउँदै आएका अधिवक्ता खगेन्द्र आचार्य सहितको टिमलाई परिवर्तन गर्दै हेमराज बरालको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा अधिवक्ता मदन तिवारी र संघको तर्फबाट राजकुमार ढकाललाई राखिएको छ । यसअघि आचार्य प्रमुख निर्वाचन आयुक्त रहने र उनले नै निर्वाचन समिति बनाउने गरेका थिए ।

आचार्य सहितको टोली प्रजातान्त्रिक धारका थिए भने अहिले बनेको निर्वाचन समिति वामपन्थी धारका रहेका छन् । समितिको परिवर्तन बारे कार्यसमितिमा छलफल नभई अध्यक्ष बलराम ढकालले सिधै नाम प्रस्ताव गरेको श्रोतले बतायो । उसो त अध्यक्ष ढकालले बैठकमा ल्याउने प्रस्ताव र निर्णयका बिषयमा कार्यसमितिका प्राय सबै पदाधिकारी र सदस्यहरुले मौनता साँध्दै आएका छन् । नेतृत्व आकाक्षी पदाधिकारी र सदस्यहरुले चुनावमा असहयोग हुने डरले अध्यक्षका एजेण्डा र निर्णयमा समेत स्वस्थ आलोचना हुन नसकेको एक पूर्व पदाधिकारीले बताए ।

संघको असफल योजना
लेखनाथ उद्योग बाणिज्य संघले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको कृषि उपज बजार अहिले अलपत्र परेको छ । पोखरा महानगरको वडा नं. २७ मा निर्माण भएको कृषि उपज बजार एकबर्ष देखि सञ्चालनमा ल्याउन नसक्दा अलपत्र परेको हो । एकबर्ष अघि निर्माण सम्पन्न भएर उद्घाटन भएको कृषि उपज संकलन तथा बिक्री केन्द्रमा संघले एक करोड भन्दा बढी लगानी गरेको छ । पोखरा महानगर, प्रदेश सरकार, संघिय सांसद र संघले संकलन केन्द्रमा एक करोड भन्दा बढी खर्च गरेका हुन । यस्तै सोही केन्द्रमा स्थापना गरिएको कोल्डस्टोर समेत संचालन आउन सकेको छैन । उसो त कोभिड संक्रमणका कारण मेला महोत्सव गर्न नसक्दा संघलाई बार्षिक ५० लाखको हाराहारीमा आर्थिक नोक्सानी भएको छ । महोत्सव स्थलको बार्षिक भाडा र स्टेज समेत अहिले अलपत्र जस्तै बनेको छ ।

संघका कार्यान्वयन नभएका योजना
संघका वर्तमान अध्यक्ष बलराम ढकाल र कार्यसमितिले अघि सारेका कतिपय योजनाहरु कार्यन्वयननै नभई तुहिएका छन् । संघले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको च्याम्बर भिलेज नाममात्रैमा सिमित भएको छ । यस्तै बेगनासतालमा हरेक शुक्रबार गरिने भनिएको बेगनास पर्यटन प्रवद्र्धन कार्यक्रम समेत अलपत्र परेको छ । यसैगरी संघले गर्न सक्ने मध्येकै अगाडी सारेको एउटा प्रोजेक्ट कोशेली घर निर्माण दुई बर्षमा समेत हुन सकेन ।

उसो त कोभिड १९ पछि कति व्यवसायी पलायन भए, कति उद्योग धन्दा बन्द भए, यसले लेखनाथ क्षेत्रमा कस्तो प्रभाव पर्यो, राहतका प्याकेज के के हुन सक्छन र कुन निकायसँग लविङ गर्ने, लेखनाथका व्यवसायीले कति कर सरकारलाई तिर्छन्, यहाँको व्यवसायिक आम्दानी, प्रतिव्यक्ति आय, कोभिड पछिको व्यवसायिक सम्भावना समेतका बिषयमा समेत संघले कुनै प्रतिवेदन समेत तयार गर्न सकेको छैन । व्यवसायिक सदस्य शुद्धिकरण लगायतको काम समेत संघले गर्न नसक्दा आगामी निर्वाचनमा त्यस्ता सदस्यले समेत प्रभाव पार्ने देखिन्छ । संघको नयाँ नेतृत्वका लागि एक हजार सात सय ५१ मतदाता रहेका छन् ।