
१घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
६नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
७ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
८अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
१२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
७‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१२गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
मुस्ताङले केही दिनमै मेरो मन र मस्तिष्कमा आफ्नो स्थायी बास बसायो। घरपझोङले मोहनी लगायो।
कल्पना पलक
कहिलेकाहीँ यसरी तैरिन मन लाग्छ,
जसरी तैरिएका हुन्छन् हावाका झोक्काहरू चुपचाप, अदृश्य बनेर जताततै ।
उडान होस् त यस्तो…
मुस्ताङ भन्नेबित्तिकै मेरो मस्तिष्कको मानचित्रमा हिमाल, स्याउ र मरुभूमिका दृश्यहरू मात्र कोरिन्थे। क्षितिज समर्पण दाइको ‘तोरकिन’ पढेपछि भने चराङ, मराङ र लोमान्थाङले मात्र नक्सा कोर्न थाले। तर मुस्ताङ पुगेपछि मात्र थाहा भयो कि मुस्ताङका हरेक ठाउँ आफ्नै पहिचान बोकेर यात्रुहरूको मन जित्न अहोरात्र लागिपरेका रहेछन्।
पत्रकार अमृत भादगाउँले दाइले मुस्ताङ जाने प्रस्ताव राख्नुभयो। उहाँसँग भर्चुअल रूपमा सामान्य चिनजान भए पनि प्रत्यक्ष भेट भएको थिएन। त्यसैले प्रस्ताव स्वीकार गर्नुअघि केहीबेर सोच्नुपर्यो। उता राष्ट्रकवि व्याकुल माइला दाइ पनि यात्रामा सहभागी हुने खबरले मन झन् उत्साहित भयो। पटक–पटक राष्ट्रिय गान सम्झिन्थेँ र छाती गर्वले भरिन्थ्यो।
अन्ततः मुस्ताङ जाने निर्णय गरेँ। असार १३ देखि १६ गतेसम्म हाम्रो काव्ययात्रा तय भएको थियो। म १२ गते नै सल्यानबाट पोखरातर्फ लागेँ। यात्राभरि मनमा एउटै प्रश्न दोहोरिइरह्यो-कस्तो होला मुस्ताङ?
१३ गते बिहान पोखरामा ओर्लिएपछि हामी १३ जना काव्ययात्रीको पहिलो भेट भयो। त्यसपछि मुस्ताङतर्फको यात्रा सुरु भयो। त्यो यात्रामा भूपिन दाइसँग मेरो दोस्रो भेट थियो। बाँकी सबै अनुहार मेरा लागि नयाँ थिए। बाटोभरि शिवप्रकाश, भूपिन र अभय दाइहरूका गफ सुन्दै यात्रा कहिले अगाडि बढ्यो, पत्तै भएन। आफूभन्दा अरूका कुरा सुनेर रमाउने बानी त पहिलेदेखिकै थियो।
म्याग्दीको बेनी बजारमा पुगेर अमृत दाइ र सागर दाइसँग भेट भयो। त्यहीँ औपचारिक परिचयात्मक कार्यक्रम भएपछि समूहसँग घुलमिल हुन मलाई सहज भयो।
मुस्ताङको प्रवेशद्वार मानिने गलेश्वर महादेवको दर्शनका लागि हामी त्यहाँ पुग्यौँ। कालीगण्डकी किनारमा रहेको उक्त मन्दिरबारे सतीदेवीको गला पतन भएको स्थानका रूपमा चिनिने जनविश्वास रहेछ।
त्यही क्रममा प्रगति राई दिदीले पूजारीलाई सोध्नुभयो, ’सतीदेवीको गला पतन भएको स्थान भए पनि मन्दिरको नाम महादेवका नामबाट किन रह्यो?’ भन्छन्, लेखकको दृष्टि फरक हुन्छ। त्यो प्रश्नले मेरो मनमा पनि अर्को प्रश्न जन्माइदियो।
खै किन हो, मन्दिर र देवताप्रतिको आस्थाभन्दा त्यहाँका कलात्मक संरचना र प्राकृतिक सौन्दर्यले मलाई बढी आकर्षित गर्छ। विशाल चट्टानमाथि उभिएको गलेश्वर मन्दिर, पत्थरमै देखिने शिलाचक्रका आकृति र कहिल्यै नसुक्ने पानी-यी सबै मेरा लागि आश्चर्यका विषय थिए।
अगाडि बढ्दै गर्दा बाटोमै रूप्से झरना भेटियो। ऊ चञ्चल बालकझैँ पहाडको काखबाट लुटुपुटु गर्दै खसिरहेको थियो। केहीबेर त्यसकै सौन्दर्यमा अल्मलिएर हामी फेरि गन्तव्यतिर लाग्यौँ।
मैले गाडीको सिसा खोलेँ।
धुपीको बोटलाई देखेँ,
र कवि भूपी सम्झिएँ।
सिसाबाहिर हात निकालेर बतासलाई स्पर्श गरेँ।
त्यो शीतलतामा
मैले भूपीलाई छोएँ।
बाटोभरि निलगिरि हिमाल हाम्रो यात्राको मौन संरक्षकझैँ उभिएको थियो। त्यसलाई पहिलोपटक यति नजिकबाट देख्दा म अनायासै कराएँ, ‘ओ माइ गड, हिमाल!’ मेरो त्यो एक वाक्यमै हिमाल हेर्ने रहर, उत्सुकता र खुसी एकसाथ पोखिएको थियो। केही पर पुगेपछि धौलागिरि हिमाल बेलुकीको घाममा सुनौलो भएर टल्किरहेको थियो-मानौँ हिरा नै पहाडको काखमा अडिएको हो।
हामी कालीगण्डकीलाई पछ्याउँदै अघि बढिरहेका थियौँ। कतै साँघुरिएकी, कतै फराकिली बनेकी कालीगण्डकी मुस्ताङको छातीमा आफ्नै लयमा बगिरहेकी थिइन्। उनको वेग देखेर मन बारम्बार चकित हुन्थ्यो।
बेलुका हामी मार्फा गाउँमा पुग्यौँ। रोयल मार्फा होटलमा बसाइ भयो। पहिलोपटक मुस्ताङ पुगेकी मेरा लागि त्यहाँका स्याउका बगैँचा, दाउराले छाइएका घर र माटाका ढिस्काजस्ता देखिने पहाड-सबै नौला र आकर्षक थिए।
केहीबेरको विश्रामपछि हामी साँझको पदयात्रामा निस्कियौँ। बेलुकाको उज्यालोमा मार्फाको जेरी गल्ली सप्तरङ्गी इन्द्रेणीझैँ चम्किरहेको थियो।
भोलिपल्ट बिहान घामले स्वागत गर्नु अगावै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली हामीलाई स्वागत गर्न आउनुभयो।
खाजापछि हाम्रो घुमफिर सुरु भयो। जीवनमा कहिल्यै गुम्बामा प्रवेश नगरेकी म, आज ऐतिहासिक गुम्बाहरू अवलोकन गर्ने अवसर पाएकी थिएँ। हेर्नु थियो ती प्राचीन गुम्बाहरू, जहाँ गौतम बुद्ध र गुरु रिम्पोछेको छवि झल्किन्थ्यो र शान्तिको मार्ग देखाउँथ्यो।
यसरी नै हामी सम्तेलिङ गुम्बा पुग्यौँ। त्यहाँ दस/बाह्र वर्षदेखि जीवनको उत्तरार्धमा पुगेका पाका लामाहरू बौद्ध मन्त्र उच्चारण गर्नमा तल्लीन थिए। गुम्बाभित्र गुञ्जिएको चर्को मन्त्रोच्चारणभन्दा पनि चिवरमा बेरिएर हातमा बोधिचित्तको माला गनिरहेका ती अनुहारहरूले मेरो ध्यान ताने। त्यही क्षण आफैँभित्र एउटा प्रश्न जन्मियो-लामाहरूले गरेको त्याग र तपस्या स्वेच्छाले रोजेको जीवन हो, कि उनीहरूका लागि रोजिएको जीवन?

खैर, आफ्ना प्रश्न आफ्नै मनभित्र सीमित राख्दै म थकाली पहिरन सजिएर जेरी गल्लीमा आफैँलाई नचाउन थालेँ। काव्ययात्रामा सहभागि हामी चारै जना महिलाले थकाली पहिरन लगाएका थियौं भने बाँकी साथीहरूले हिमाली पहिरन। यसरी नयाँ भेषभुषामा हामी फरक देखियौं।
मार्फा घुमेपछि हामी चिमाङ गाउँमा पुग्यौं। कृषिका लागि चिमाङ प्रख्यात रहेछ। स्याउ र तरकारी राम्रो उत्पादन हुँदो रहेछ। चिमाङपछि हामी छैरो गाउँमा पुग्यौं। त्यहाँको छैरो छहरा गुम्बाको दर्शन ग¥यौं। त्यहाँ प्राचीन कलाकृतिका साथै गुरु रिम्पोछेको विशाल प्रतिमा पनि अवलोकन गर्यौं ।
गुम्बामा केहीबेरको विश्रामले थकान पनि बिर्साइदियो। सोह्रौँ शताब्दीमा स्थापित रहेछ यो गुम्बा। जीर्ण अवस्थामा देखिए पनि त्यसले बोकेको पुरातात्विक महत्व बोकेको छ। त्यहाँ हामीले धुपी सल्काएर त्यसको मीठो सुगन्धसँगै केही क्षण प्रकृतिलाइ सासमा भर्यौँ।
मलाई उड्नु थियो माथि–माथि,
जहाँ उचाइको कुनै मूल्य नहोस्
छैरो छहराजस्तै…
त्यसपछि गुम्बा नजिकै रहेको तिब्बतीयन क्याम्प पुग्यौँ। त्यहाँका बासिन्दालाई देख्दा एकछिन त तिब्बतमै पुगेजस्तो लाग्यो। त्यही बेला मनमा एउटा विचार आयो—हाम्रो देश शरण लिने मात्र होइन, शरण दिने पनि रहेछ।
तिब्बती क्याम्प भन्दा पछाडि भित्तामा एउटा अनौठो झरना देखियो, छैरो छहरा। छैरो छहरा आफूलाई खसाल्नुभन्दा बढी उडाउन मन पराउँछ। त्यसैले ऊ हावाको वेगसँगै उडेर बादलमा मिसिन्छ। त्यसको काखमा कुँदिएका तिब्बती मन्त्रका शिलालेखहरू हेरेँ। पढ्न र बुझ्न नसके पनि तिनले बोकेको इतिहास र विश्वास भने महसुस गर्न सकिन्थ्यो।
त्यहाँबाट हामी अर्को गुम्बा, कुछप तेरङ्गा गुम्बामा पुग्यौं। दर्शन ग¥यौं। त्यहाँबाट ओरालो झर्दै गर्दा ढुम्बा तालको पूरै स्वरूप देखियो। कसैले त्यसलाई पानको पात भन्नुभयो, कसैले मुटुको आकार।
मैले भने निलगिरिबाट झरेको पीपलको पात देखेँ, जसले आफ्नै अस्तित्वलाई बडो सुन्दर ढङ्गले सजाएको थियो।
हामीले ढुम्बा तालको एक फन्को लगायौँ। ढुम्बाको सुन्दरता र त्यहाँका चञ्चले माछाहरूको बयान म शब्दमा गर्न सक्दिनँ। बतासले पनि हामीलाई देखेर खुसी भएझैँ लाग्थ्यो। उनीहरू हामीलाई आफ्नै पखेटामा राखेर उडाउन खोजिरहेका थिए।
ढुम्बाको काखमा रमाउँदै शब्दहरू आफैँ आए—
छोडेर जाऊँ मान्छेको जमात,
प्रकृति पास बनाऔँ।
आकाशमा उडौँ कपाससरी,
पखेटा बतास बनाऔँ।।
त्यसपछि हामी ठिनी गाउँमा पुग्यौँ। हातमा खादा र सेतो अक्षता लिएर ठिनीले हामीलाई पर्खिरहेकी थिई। स्थानीयले आफ्नो मौलिक संस्कृतिसँगै हाम्रो आत्मीय स्वागत गर्नुभयो।
‘ओ ओ या याखचे या…’ भन्दै याकका मुकुट लगाएका दुई पुरुष र स्थानीय दिदीबहिनीहरुको हाँसो र नाचसँगै हामी पनि रमाइरहेका थियौँ।
त्यहीँको थकाली सामुदायिक होमस्टेमा हाम्रो बसाइ भयो। त्यहाँको आतिथ्यले म साँच्चै चकित भएँ। अध्यक्षज्यू मोहनसिंहले भन्नुभएको एउटा वाक्य अझै सम्झन्छु- ’खाना पहिले आँखाले खानुपर्छ, अनि मुखले।’ साँच्चिकै, थकाली खानाका परिकार हेर्दै अघाएजस्तो लाग्ने, अनि जे खाए पनि उत्तिकै स्वादिष्ट।
घरमा आमाले सधैँ बिहान, ‘नानी, उज्यालो भयो, उठ,“ भनेर उठाउनुहुन्थ्यो। त्यो बिहान भने होमस्टेकी दिदीले ‘नानी! पानी ल्याइदिऊँ?’ भनेर बोलाउनुभयो ।
आमाजस्ती मायालाग्दी होमस्टेकी दिदी! हामीलाई नास्ता खुवाएर बाटोमा खान भनेर पोलेथिनमा भुटेको मकैसमेत राखिदिएर दिदीले बिदाइ गर्नुभयो। हामीले ठिनी गाउँको शिरमा रहेको थकाली सङ्ग्रहालयको अवलोकन गर्यौँ। एउटा घरभित्रै पूरै थकाली समुदायको संस्कृति र सभ्यता बोलिरहेको थियो।
‘ल, ल, छिटो जानुपर्छ। अब उता स्कुलमा बोलाउनुभएको छ,’ अमृत दाइले भन्नुभयो। हामी जोमसोम बजारको जनहित माध्यमिक विद्यालय पुग्यौँ। त्यहाँ मेरा बाल्यकाल सम्झाइदिने कलिला विद्यार्थीहरू राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला दाइसँग राष्ट्रिय गान गाउन उत्सुक देखिन्थे।
हामी सबैले राष्ट्रिय गान गायौँ। मैले पढ्ने बेला ब्याकुल माइला एउटा नाम मात्र थियो, जसलाई परीक्षाका लागि घोक्नुपथ्र्यो। आज तिनै ब्याकुल माइला ती विद्यार्थीहरूसँगै उभिएर राष्ट्रिय गान गाइरहनुभएको थियो। त्यो दृश्यले समयको सुन्दर संयोग महसुस गरायो।
त्यो विद्यालयको प्राङ्गणमा उभिँदा हामी सबैले आ-आफ्नो बाल्यकाल सम्झियौँ। राष्ट्रियताको भाव छातीबाट उर्लिएर आँखाका चेप हुँदै रसाए ।
मुस्ताङ पुगेर मुक्तिनाथ नपुगी फर्किने त कुरै भएन। एउटा कुरा, घरपझोङ गाउँपालिकाले लेखकहरूलाई आफ्नो पालिकामा घुमाएर साहित्यिक पर्यटन प्रवद्र्धन गर्न ‘घरपझोङ काव्ययात्रा–२०८३’ आयोजना गरेको हो। त्यसको संयोजन काठमाडौंको कन्सेप्ट नेपालले गरेको थियो।
मुक्तिनाथ घरपझोङ गाउँपालिकाभित्र पर्दो रहेनछ। यद्यपि त्यहाँ पनि हामीलाई घुमाइयो। राष्ट्रिय गान गाएर हामी जिपमा मुक्तिनाथतर्फ लाग्यौँ। बाटोभरि नेपालीभन्दा भारतीय तीर्थयात्रीहरूको भीड बाक्लो देखिन्थ्यो।
मुक्तिनाथमा सबैले अटल विश्वासका साथ चिसो पानीले आफूलाई पखाल्दै कुण्डमा डुबुल्की मारिरहेका थिए। म भने उनीहरूको आस्था, उत्साह र अनुहारभरि देखिएको सन्तुष्टिलाई नियालिरहेकी थिएँ। हामी सबैले मुक्तिनाथको दर्शन गर्यौं ।
मुक्तिनाथकै छेउमा रहेको विशाल बुद्धको मूर्ति र त्यसको काखमा मुस्कुराइरहेका रङ्गीचङ्गी फूलहरूले वातावरणलाई झन् शान्त बनाइरहेका थिए। पानीमाथि बलिरहेको ज्वालाले सायद मुस्ताङको चिसो मुटुलाई न्यानो बनाइरहेको थियो।
मुक्तिनाथबाट ओरालो झर्दै हामी कागबेनी पुग्यौँ। केहीबेर त्यहाँको वातावरण नियालेर फेरि जोमसोमतर्फ लाग्यौँ। जोमसोममा स्याउको आकारको प्रवेशद्वार हुँदै हामी घरपझोङ गाउँपालिकाको कार्यालयमा प्रवेश गर्यौँ। चिसो मौसममा न्यानोपन थप्न अध्यक्ष मोहनज्यूले हामी प्रत्येकलाई एउटा-एउटा टोपी उपहार दिनुभयो। त्यसपछि स्याउको आकारको कागजमा नाम र ठेगाना लेखेर सम्झनाको रुखमा बाँध्न आग्रह गर्नुभयो। हामीले पनि आफ्नो चिनो त्यहीँ छोड्यौँ।
जोमसोमको कालीगण्डकीको विशाल स्वरूपले मलाई फेरि अचम्मित बनायो। त्यसमाथि नदी किनारका विशाल चट्टानमा कुँदिएका मूर्तिहरूले झन् धेरै बेर रोकिराखे। अध्यक्षज्यू ती मूर्तिहरूको कथा सुनाउँदै अघि बढिरहनुभएको थियो, म भने पछिपछि सुन्दै, हेर्दै र आश्चर्य मान्दै हिँडिरहेकी थिएँ।
साँझपख हामी स्याङ गाउँमा पुग्यौँ। त्यहाँ वडा सदस्य वीरबहादुर थकालीसहित होमस्टेका दिदीबहिनीहरूले आत्मीय स्वागत गर्नुभयो। तातो नुनचिया र भुटेको मकैसँगै रचना वाचन सुरु भयो। सबैका कविताले मुस्ताङजस्तै आफ्नै सौन्दर्य बोकेका थिए।
तीमध्ये भूपिन दाइको ‘स्याउबाजे’ कविता अझै सम्झिरहेकी छु। त्यो कविताले मुस्ताङको स्याउको इतिहास बोलिरहेको थियो-हजारौँ स्याउका बिरुवालाई जीवन दिने एउटा मान्छेको कथा।
गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली दिदीले आफ्नो सुरिलो स्वरमा गाउँदै वातावरणलाई झन रमाइलो बनाइदिनुभयो-
जोमसोमै बजारमा
बाह्रबजे हावा सरर…
ए हजुर ! घर हाम्रो पोखरा,
अहिलेसम्म भा छैन घरबार।।
त्यो गीत सकिँदासम्म स्याङको साँझ, मुस्ताङको हावा र हाम्रो काव्ययात्रा एउटै सम्झनामा मिसिइसकेका थिए।
भोलिपल्ट बिहान हामी झोङ न घाङ शान्ति पार्क पुग्यौँ। कलिलो घामले जिउ सेक्दै मुस्ताङलाई अन्तिमपटक आँखाभरि सजायौँ। थकाली होमस्टेकी दिदी आफू गर्भवती भएर पनि हाम्रो सेवामा उत्तिकै समर्पित हुनुहुन्थ्यो। उहाँले प्रेमपूर्वक पकाएको फापरको रोटी र आलुको तरकारीको स्वादसँगै उहाँको आत्मीयता पनि सधैँ सम्झिरहनेछु।
आज हाम्रो काव्ययात्राको अन्तिम दिन। मुस्ताङको काख छोड्नुपर्ने सोचले मन अलि भारी थियो। तर घरपझोङ गाउँपालिकामा हुने औपचारिक कार्यक्रमको उत्साह पनि उत्तिकै थियो।
कार्यक्रम सञ्चालन अमृत दाइले गर्नुभयो। भूपिन खड्का दाइले अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीसँग जलवायु परिवर्तन, त्यसका असर र न्यूनीकरणका उपायबारे संवाद गर्नुभयो। उहाँहरूका विचार सुन्दै गर्दा घरपझोङले विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखेको अनुभूति भयो।
अध्यक्ष मोहनसिंहले सरल भाषामा आफ्ना अनुभव र योजनाहरू राख्नुभयो। जलवायु परिवर्तनका कारण मुस्ताङमा देखिएका परिवर्तन, कृषि प्रणालीमा आएको फेरबदल र त्यससँग जुध्न स्थानीय तहले गरिरहेका प्रयासबारे उहाँले खुलेर बताउनुभयो। उहाँका भनाइमा चुनौतीसँगै सम्भावनाप्रतिको आशा पनि स्पष्ट सुनिन्थ्यो।
उपाध्यक्ष जमुनाले मुस्ताङको सामाजिक संरचनाबारे रोचक पक्ष राख्नुभयो। यहाँ महिलाहरू नेतृत्व र जिम्मेवारीमा सक्रिय रहेको, त्यसले आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको र त्यसमा आफूहरू गर्व गर्ने कुरा उहाँले बताउनुभयो।
त्यसपछि एउटा मन छुने क्षण आयो। जीवनभर आफ्नै गाउँको सेवा गर्दै श्रम, सीप र पसिनाले समाज निर्माणमा योगदान दिएका तीन जना दलित समुदायका हस्तकर्मीलाई सम्मान गरियो। साइला बि.क, मनप्रसाद बि.क र कुमारी नेपालीलाई जनही दश हजार रुपैयाँसहित सम्मान गरियो।
त्यो दृश्य हेर्दा लाग्यो-समाजको जग निर्माण गर्ने हातहरू सम्मानित हुँदा मात्रै सम्मानको अर्थ पूरा हुन्छ। उहाँहरूको सम्मानमा मैले ‘बा’ शीर्षकको कविता वाचन गरेँ। त्यसपछि हामी सबैले आ–आफ्ना कविता मुस्ताङलाई सुनायौँ। कार्यक्रमभरि कविता, संस्कृति र आत्मीयताले एउटा सुन्दर वातावरण सिर्जना गरेको थियो।
घरपझोङमा बिताएका केही दिनले मलाई एउटा कुरा सिकाए—विकास सडक र भवनले मात्र हुँदैन, संस्कृति, सम्मान, प्रकृति र मानिसबीचको सम्बन्धले पनि हुन्छ।
कार्यक्रमको अन्त्यमा गाउँपालिकाले खुर्पानी, बिउबिजन र स्थानीय कोसेली प्रदान गरेर हामीलाई बिदाइ गर्यो। ती कोसेलीभन्दा ठूलो उपहार भने मुस्ताङले मनमा छोडेको आत्मीयता थियो। यसरी मुस्ताङलाई छातीभरि बोकेर म फर्किएँ-मुस्ताङको काखबाट।

कल्पना पलक
कतिपयले भन्छन्, मनको नाप लिन सकिँदैन। सायद त्यसैले होला, त्यसमा यति धेरै सम्झनाहरू अटाउँछन्।
मैले नदेखेको मुस्ताङले केही दिनमै मेरो मन र मस्तिष्कमा आफ्नो स्थायी बास बसायो।
अब लाग्छ—मुस्ताङ एउटा गन्तव्य मात्र होइन,
मेरो स्मृतिको स्थायी ठेगाना हो।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद