News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘कसैप्रति पनि प्रतिशोध साधिने छैन’: आईजीपी केसी

संवेदनशील सूचना चुहावट गर्नेप्रति शून्य सहनशीलताको नीति लिइने

काठमाडौं, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेका नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै कसैप्रति पनि प्रतिशोध साधिने छैन र संवेदनशील सूचना चुहावट गर्नेप्रति शून्य सहनशीलताको नीति लिइने स्पष्ट पारेका छन्।

निर्देशन क्रममा आईजीपी केसीले व्यक्तिगत विषयलाई संगठनसँग नजोड्न र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नगर्न आग्रह गरे। उनले संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत चुहावटप्रति शून्य सहनशीलता अवलम्बन गरिने बताए। विधिको शासन पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई काम गर्न निर्देशन दिए।

केसीले अब कामको आधारमा प्रहरी बढुवा सुरु हुने र त्यसलाई प्रणालीबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिक विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारी एकढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नागरिकको अपेक्षाअनुरूप काम अगाडि बढाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

बदलिँदो सामाजिक परिवेश र विकसित सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको आईजीपी केसीले बताए। प्रहरी अतिरिक्त महानिरीक्षकदेखि आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताविना संगठनका चुनौती सम्बोधन सम्भव नहुने उनको भनाइ थियो।

मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सामाजिक सञ्जालको प्रवृत्ति र प्राविधिक जोखिमलाई मध्यनजर गर्दै प्रहरी कार्यसम्पादन तथा आन्तरिक रणनीतिमा संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न जोड दिए। राष्ट्रसेवकबाट प्रवाह हुने सेवाको स्तर र नागरिकप्रतिको व्यवहार सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले आपराधिक प्रवृत्तिसँग कठोर तर आम नागरिकसँग अपेक्षाअनुरूप व्यवहार गर्न निर्देशन दिए।

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र कार्य वातावरण सुधारका प्रयास निरन्तर गरिने केसीले बताए। प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण तथा पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणाली प्रवर्द्धनका लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग आवश्यक नीतिगत पहल गरिने उनले स्पष्ट पारे।