सन् १९४६ मा ग्रिक लेखक निकोलस कजानजाकिसले एउटा उपन्यास लेखे ‘जोर्वा द ग्रिक’ । पछि सन् १९५८ मा र १९६४ मा हलिवुडमा सोही उपन्यासमा आधारित फिल्म बन्यो । त्यसले खुब चर्चा पनि बटुल्यो । सन् १९६४ मा उक्त समयका चर्चित कलाकार एन्थोनी क्वीन तथा एलेन बेट्सले अभिनय गरेको फिल्म हलिवुडको Cult Classics मध्ये एक मानिन्छ । उक्त फिल्मको अन्त्यमा फिल्मका दुई मुख्य पात्र जोर्वा र वासिलले गरेको नृत्य आजसम्म पनि सिनेमाका पारखीहरुको यादमा ताजै होला ।
जोर्बा द ग्रिक (Zorba The Greek ) को कथा यस्तो छ । बासिल नामको एकजना ग्रीकमुलुको ब्रिटिश लेखक आफ्नो बाबुको मृत्यु पश्चात बन्द अवस्थामा रहेको खानदानी व्यवसायलाई पुनर्जीवित गर्न ग्रिसको क्रेट जाँदै हुन्छ । त्यहाँ बाटोमा उसले जोर्बा नाम गरेको एकजना उन्मुक्त र अचम्मको व्यक्तिलाई भेट्छ । जोर्बाले बासिलसँग आफूलाई काममा राख्न अनुरोध गर्छ । जोर्बा गरिब छ तर उसले जे काम गरेपनि पुरै तल्लिन हुन्छ । संगीत बजाउँछ, नाच्छ, खान्छ, पिउँछ, रमाउँछ र प्रेम गर्छ । अनि सबै प्रकारका उपलब्ध सांसारिक सुख पुरापुर भोग्छ र जीवनका हरेक उतार चढावमा पनि मस्ती मै रहन्छ ।बासिल धनि त छ । तर गरिव जोर्बाको जस्तो जीवन जीउने कला र पागलपन उसमा छैन । बिस्तारै–बिस्तारै जोर्बाको संगतमा बासिल पनि जीवनलाई नयाँ आँखाले हेर्न शुरु गर्छ । कथाको उत्तराद्र्धमा, जोर्बा र बासिल दुवैको प्रेम कथाको दुखद अन्त्य हुन्छ ।
तिनीहरुले गर्न खोजेको काम पनि बिग्रन्छ । तब वासिलले जोर्बालाई आफूलाई डान्स सिकाउन अनुरोध गर्छ । दुबैजना जोर्वाले सिकाएको नृत्यमा मस्तले नाच्छन् । त्यो नाचसँगै कथाको अन्त्य हुन्छ । यही नाँच आजसम्म पनि जोर्बा डान्सको रुपमा प्रसिद्ध छ । कथा काल्पनिक भएपनि जोर्बा एक जीवित पात्र जस्तै किंवदन्तीको रुपमा ( Legend) पश्चिमी जगतमा स्थापित छ ।
हामी सबैले सुनिराखेको नेपाली माटो कै एउटा सत्यकथा म पाठकहरुलाई पुर्नस्मरण गराउन चाहन्छु । करिब २६०० वर्ष अगाडि तत्कालिन कपिलबस्तु राज्यका शाक्य राजा शुद्धोधनकी गर्भवती रानी मायादेवी देवदह भन्ने ठाउँमा रहेको आफ्नो माईतीघर तर्फ जाँदै थिईन । प्रथम सन्तान माईतीघरमा जन्माउने प्रचलन स्वरुप सुसारे र सहयोगीहरुको साथमा देवदह जाँदाजाँदै उनीलाई बाटैमा प्रसव पिडा शुरु भयो । बाटोमा पर्नेे लुम्बिनी बनमा सालको रुख तल मायावतीले एक छोरा जन्माईन् । तिनको नाम सिद्धार्थ राखियो ।
छोराको जन्म पश्चात् केही दिन भित्रै मायादेवी परलोक भईन् । मायादेवीको मृत्यु पछि राजा शुद्धोधनले मायादेवीकी बहिनी महाप्रजापति गौतमीलाई विवाह गरे । गौतमीले टुहुरा सिद्धार्थलाई मुटुको टुक्रा जस्तै गरेर सम्हालिन् । भनिन्छ, जन्मने बित्तिकै राजाका ज्योतिषीहरुले सिद्धार्थको भविष्यका दुई सम्भावनाका बारेमा राजालाई बताएका थिए । एक, महाचक्रवर्ती साम्राट बन्ने दोस्रो महायोगी बन्ने । छोराले राजपाठ त्यागेर जोगी बन्ला भन्ने भयले शुद्धोधनले सिद्धार्थलाई सानै देखि सांसारिक सुखसयलमा बाँधेर राख्ने प्रयत्न गरे ।
सिद्धार्थको लागि फरक–फरक ऋतुहरुको लागि फरक–फरक स्थानमा बिशाल महलहरु बनाईदिए । सुन्दर बगैंचाहरु निर्माण गरिदिए । परम सुन्दरी स्त्रीहरु जम्मा गरी सिद्धार्थलाई भोगको दुनियाँमा डुबाएर राखे । अनि दुख भन्ने चिज कुन चराको नाम हो थाहै नहोस् भनि हजारौं सांसारिक भुल भुलैयाले ढाकेर राख्ने प्रयत्न गरे । तर बिधीको बिधान अर्कै थियो । अति सुखभोगको त्यस स्थितिमा पनि दुखको बिकराल आगो महसुस गरी सिद्धार्थले घरबार त्याग गरे । सुन्दरी श्रीमती यशोधरा र भर्खरै जन्मेको पुत्र राहुललाई छाडी आत्मिक शान्तिको खोजमा जंगल पलायन भए ।
सिद्धार्थले तत्पश्चात ६ वर्षसम्म कष्टपूर्ण साधना गरे । जन्मेको २९ वर्षसम्म महासुखमा बसेका उनीले कहिले एक छाक मात्र खाएर, कहिले खाँदै नखाएर, कहिले एउटै खुट्टामा उभिएर, कहिले एकसरो कपडा मात्र लगाएर सत्य प्राप्तिको लागि चरम कष्टकर साधना गरे । साधनामा सही मार्गदर्शन गर्ने सद्गुरु नपाएकोले आफ्नै कोसिमले साधनाको अन्धकारपूर्ण मार्गमा हिँड्दा हिँड्दै एकदिन अचानक गयाको पिपलको बृक्षको तल ‘सम्बोधी’ (Enlightenment) प्राप्त गरे । सम्बोधी पश्चात् सिद्धार्थ गौतम तथागत ‘बुद्ध’को नामले प्रसिद्ध भए । आजसम्मको ईतिहास केलाउँदा, सम्बुद्ध ब्यक्तिहरुको परम्परामा बुद्धको नाम अग्रपंक्तिमा रहेको छ र ध्यान शब्द सुन्ने बित्तिकै बुद्धकै याद पहिला आउँछ ।
यस युगका महान रहस्यदर्शी ओशोले नयाँ मनुष्यको परिकल्पना मैले माथि उल्लेख गरेका दुई ब्यक्तित्वको समन्वयमा गर्नु भएको छ । त्यसको नाम दिनुभएको छ, ‘जोर्वा द बुद्ध’ । ओशो भन्नुहुन्छ–‘मैले चाहन्छु नयाँ मनुष्यको बाहिरी रुप जोर्बा जस्तो होस् र आन्तरीक स्वरुप बुद्ध जस्तो होस् । जोर्बा पनि अधुरो छ किनकी भौतिक भोग मात्र छ र बुद्ध पनि अधुरो लाग्दछन् किनकी जीवनको रस र रङ्ग छैन । दुवैको समन्वय हुँदासम्ममात्र मानिस पूर्ण हुन्छ । जोर्बा अर्थात् भौतिक सम्वृद्धता अनि बुद्ध अर्थात आन्तरिक सम्बुद्धता । व्यक्ति सम्भव भएसम्म आर्थिक रुपमा सम्बृद्ध बनोस् । सुखभोग गरोस् । खाओस्, पिओस्, कला अनि सङ्गीतको आनन्द लिओस् । गीत गाओस् । नाचोस् साथै आन्तरिक सम्पदाको खोज पनि गरोस् बुद्ध जस्तै । जोर्बा नयाँ मनुष्यताको जग (Foundation) बन्नुपर्दछ भने बुद्ध त्यो जगमा फैलिएको बृक्ष ।’
ओशोले थप भन्नु भएको छ कि, कुनै प्रज्ञावान व्यक्तिले जब जोर्बा जस्तै पूर्ण रुपमा संसार भोग गर्दछ तबमात्र भित्रबाटै सांसारिक वासना त्याग गर्न सक्दछ । सिद्धार्थ गौतमले पनि पहिला जोर्बाको जीवन बिताएका थिए । उनी प्रज्ञावान थिए । त्यसैले जब भोगको अति महसुस गरे त्यसलाई त्याग गरी साधनाको मार्गमा लागे र बुद्ध भए ।
रहस्यदर्शी सद्गुरु ओशोका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुणको जीवनलाई नजिकबाट हेर्ने अवसर पाएपछि मैले ओशोले बुझाउन खोज्नुभएको ‘जोर्वा द बुद्धा’को अर्थ अझ स्पष्ट रुपमा बुझें । पेशाले सिभिल ईन्जिनियर स्वामी आनन्द अरुण कर्मले योगी अनि ध्यानका अन्र्तराष्ट्रिय प्रशिक्षक मात्र होईन कि एक आध्यात्मिक गुरुको रुपमा विश्व प्रख्यात हुनुहुन्छ । स्वामी अरुण भन्नु हुन्छ–‘सबै साधकहरुले सिद्धार्थ गौतमले जस्तै साधना गर्नको लागि घरबार त्याग्नु पर्ने आवश्यकता छैन । सिद्धार्थको परिस्थिति अलि विशिष्ट थियो । जुन ब्यक्तिले संसारमै बसेर, यहाँका भौतिक सुख सुबिधाहरु उपभोग गरेर पनि ध्यानमय र साधनापूर्ण जीवन बिताउँछ, त्यही हो ओशोको सही ‘जोर्वा द बुद्ध’ । राजा जनक, श्रीकृष्ण, सद्गुरु ओशो स्वयं ‘जोर्बा द बुद्ध’को सच्चा उदाहरणहरु हुन् ।’
पौराणिककालका राजा जनक, भगवान श्रीकृष्ण या भना करिब ३० बर्ष अगाडि सन् १९९० मा शरीर छाड्नु भएका मेरै आराध्य भगवान ‘ओशो’लाई पनि मैले सशरीर भेट्न पाईन । त्यसैले, उहाँहरुको बारेमा धेरै कुरा लेख्ने वा भन्ने धृष्टता गर्न पनि सक्दिन । तर मैले नजिकबाट चिनेका व्यक्तिहरु मध्ये सफल ईन्जिनियरको सांसारिक जीवन बिताउँदै पनि आत्मसाधनाको शिखर छुनु भएको जस्तो महसुस गर्न सकिने स्वामी आनन्द अरुणज्यूलाई जब–जब नियाल्छु तब मलाई लाग्छ कि ओशोकोे ‘जोर्वा द बुद्ध’को परिकल्पना स्वामीजीमा आएर पूर्णरुपमा साकार भएको छ ।
जय ओशो ♥♥♥ जय अरुण स्वामीजी ♥♥♥
स्वामी अरुण भन्नु हुन्छ–‘सबै साधकहरुले सिद्धार्थ गौतमले जस्तै साधना गर्नको लागि घरबार त्याग्नु पर्ने आवश्यकता छैन । सिद्धार्थको परिस्थिति अलि विशिष्ट थियो । जुन ब्यक्तिले संसारमै बसेर, यहाँका भौतिक सुख सुबिधाहरु उपभोग गरेर पनि ध्यानमय र साधनापूर्ण जीवन बिताउँछ, त्यही हो ओशोको सही ‘जोर्वा द बुद्ध’ । राजा जनक, श्रीकृष्ण, सद्गुरु ओशो स्वयं ‘जोर्बा द बुद्ध’को सच्चा उदाहरणहरु हुन् ।’