News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जनपत्रकार सहिद महेश पहारीको १६ औं स्मृतिसभा

नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष एवम् पूर्वमन्त्री हितराज पाण्डे

डन न्यूज
पोखरा ।
जनपत्रकार सहिद महेश पहारीको १६ औं स्मृति दिवस आज पोखरामा मनाइएको छ । पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेको थियो । पत्रकार पहारी विरामी हुँदा समेत समयमा नै उपचार नपाएर वि.सं. २०६२ मा असोज १८ गते निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी पोखरा–१० ले आयोजना गरेको स्मृति सभामा नेकपामा केन्द्र, प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयवासीले पहारीको बुद्धचोकस्थित घरमा पुगेर सहिदको तस्विरमा माल्यार्पण गरी स्मरण गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटीका अध्यक्ष एवम् पूर्वमन्त्री हितराज पाण्डेले उत्पीडित जनताको पक्षमा सहिद पहारीले निरन्तर कलम चलाएको स्मरण गर्दै सहिदका परिवारलाई सुविधा, सन्ततिलाई शिक्षा–दिक्षा लगायतमा जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
देशले अहिले हासिल गरेका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धिहरु जनयुद्ध तथा जनआन्दोलनका सहिदका कारणबाट नै सम्भव भएको बताउँदै नेता पाण्डेले–‘निरन्तर जनताको सेवामा लाग्दा मात्र उनीहरुका सपना पूरा हुन्छ ।’
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवम् नेकपा गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले सहिद, घाईते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टी भित्र छुट्टै विभाग आवश्यक रहेको बताउनुभयो । नेकपा पोखरा महानगरपालिका वडा कमिटी १० का अध्यक्ष सूर्य बानियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता तिमिल्सनाले गर्नुभएको थियो ।