News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मराङखोलामा पक्की पुल निर्माण

बेनी, १४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ । सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्नेगरी पोखराको फेवा सावित्री निर्माण कम्पनीसँग रु दुई करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरेसँगै सवारीसाधनसमेत आवतजावत गर्न थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोना महामारीलगायत कारण ढिलासुस्ती भएको पुलमा अन्तिम पटक थप भएको समयसीमाभित्र निर्माण कम्पनीले काम सम्पन्न गरेको उहाँले बताउनुभयो । म्याग्दीका पाँच स्थानीय तह जोड्ने गरी रिङरोडको परिकल्पना गरेर निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, बिम हुँदै मराङ–मल्कवाङ र रघुगङ्गा गाउँपालिका–८ कुइनेखानी जोड्ने सडकअन्तर्गत मराङ खोलामा पुल नहुँदा सवारीसाधन खोलामै जोखिमपूर्ण तवरले आवतजावत गराउनुपर्ने बाध्यता थियो ।

पुल निर्माण भएपछि वर्षात्का समयमा समेत सवारीसाधन आवतजावत गर्न सहज भएको मराङका वडाध्यक्ष राजाराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार बर्खायाममा भलबाढी आउने अन्य चार ठाउँमासमेत पुल निर्माण गर्न बाँकी छ । यसैबीच पुलको अर्कलातर्फको सडक स्तरोन्नतिका क्रममा व्यवस्थित ढल निकास नहुँदा सडकको भल पुलमाथि नै जाने भएपछि पुलमा भलबाढीले क्षति गर्ने जोखिम बढेको छ । सडकको भलबाढीलाई व्यवस्थित निकास दिन आवश्यक पूर्वाधार बनाउन मालिका गाउँपालिकालाई पत्राचार गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।