News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

एमालेको राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेलाई नेपाली खानाको व्यवस्था

काठमाडौँ । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम गर्ने छ ।

१०-१२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ । उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । बन्द सत्र भने ११ र १२ मंसिरमा सौराहाको होटल सेभेन स्टारमा हुने तय भएको छ ।

बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र पाँच सय अतिथि तथा पत्रकार गरी चार हजार जनाका लागि होटलका कोठा बुक गरिएको छ ।

बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खाने छन् । खाना खाजा र कोठाका लागि आयोजकले व्यवसायीहरूसँग आधिकारिक रूपमा सम्झौता भने गरिसकेको छैन । १० मंसिर राति एमाले अध्यक्षका तर्फबाट विशेष खानाको व्यवस्था गर्ने भनिएको छ ।

११ र १२ मंसिरको बिहानको खाजा (ब्रेकफास्ट) र बेलुकीको खाना गरी चार छाकको व्यवस्था गर्न व्यवसायीहरूलाई भनिएको छ । दुई दिनको दिउँसोको खानाको पनि आयोजकले नै व्यवस्था गर्ने भएको छ । त्यसका लागि आयोजकले क्याटरिङलाई जिम्मा दिँदै छ ।

बन्द सत्र हुने होटलको नजिकै खाली चौरमा पण्डाल बनाइएको छ । पण्डालबाट पार्टी अध्यक्षले कार्यकर्तालाई सम्बोधन गर्ने महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए । ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट भोटिङ सुरु हुने उनले जानकारी दिए ।

आयोजकसँग औपचारिक सम्झौता भइसकेपछि खाना र खाजाको मेन्यु सार्वजनिक गरिने होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले बताए । ‘खाजा खानाका लागि लगभग म्यान्डेट पाइसक्यौँ । तर पनि औपचारिकता पूरा गर्न बाँकी छ । सम्झौता पत्रमा हस्ताक्षर भएपछि औपचारिकता पनि सकिन्छ’, उनले भने ।

ब्रेकफास्टको मेन्यु तयार भइनसकेको उनले बताए । खानामा दाल, भात, तरकारी र मासुको व्यवस्था हुने छ । खाजा तथा खानाको मेन्यु तयार गर्ने विषयमा मोनिटरिङका लागि सोल्टी र हायत होटलबाट अनुभवी सेफहरूलाई ल्याइने उनले बताए ।