News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार राजनीति

आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा

अपराध अनुसन्धान कार्यालय, टेकुबाट सादा पोसाकमा खटिएका ५ जना प्रहरी नयाँ पत्रिका दैनिकको कार्यालयमा ।

काठमाडौं, १३ कार्तिक । शाही शासनकालमा राजा ज्ञानेन्द्रले मिडियामाथि सेना परिचालन गरी कार्यकक्षमा गरेको हस्तक्षेप र प्रतिबन्धलाई पनि माथ दिँदै नेपाल प्रहरीले आइजिपी दानबहादुर कार्कीका विषयमा समाचार लेखेकै आरोपमा धमाधम पत्रकारहरूलाई पक्राउ गर्न थालेको छ।

शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। नेपाल प्रेसका अनुसार समाचारका विषयमा छलफल गर्ने भन्दै सुवेदीलाई प्रहरी भ्यानमा आएका तीन जनाले नियन्त्रणमा लिएर गएका हुन्।

नेपाल प्रेसमा आइजिपी कार्कीलाई राजीनामा दिन दबाब भन्ने समाचार प्रकाशित भएको थियो। सुवेदीलाई साइबर ब्युरोमा पुर्‍याएको छ। साइबर ब्युरोका एसपी दीपक अवस्थीले एक सञ्चारमाध्यमसँग भनेका छन्, ‘उहाँसहित अरू केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकाले साइबर ब्युरो ल्याइएको हो।’ शुक्रबार नै मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै करिब ४-५ जना प्रहरी कार्यालयमा उपस्थित भएका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसेका थिए।

पक्राउ पुर्जी भने थिएन। नयाँ पत्रिकाको बिहीबारको अंकमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको इनम सापकोटासँग भएको संवाद प्रकाशित भएको थियो।अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्।

त्यहाँ कार्यरत एक पत्रकारका अनुसार प्रहरी प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न आएका थिए। दियो पोस्टले प्रधानन्यायाधीशसम्बन्धी समाचार प्रकाशित गरेको भन्दै आफूहरूलाई धम्की आएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो।

बिहीबार नेपाल प्रहरीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा आइजिपीलाई राजीनामाको दबाब आएको भन्ने समाचार गलत रहेको दाबीसहित यसलाई संगठन कमजोर बनाएर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएर केही सीमित व्यक्तिको चालबाजीलाई प्रहरीले कानुनबमोजिम अनुसन्धान र कारबाही गर्ने चेतावनी दिइएको थियो।

नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्यलाई राज्य आतंकको संज्ञा दिँदै तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले भने, ‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ। हरेक समाचार कक्षमा प्रहरी गएर पत्रकारलाई नियन्त्रणमा लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन हो। यसलाई तत्काल रोक्नुपर्छ। राज्य आतंक नरोकिए यो खेदजनक कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन।’