काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले आज मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प बनेको छ ।
आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधना चल्न सकेका छैनन् भने बिहानी सेवाका स्कुल, कलेजअरु बन्द छन् । काठमाडाै उपत्यकामा पनि बन्दको प्रभाव परेको छ । बजार व्यवसाय बन्द छ । बन्दको दिन काठमाडाै उपत्यकामा प्रहरीको बाक्लो उपस्थिति छ ।
सो पार्टीका इन्चार्ज प्रज्वलनले एक विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिन नेपाल बन्दको आह्वान गरिएको बताएका छन् । बन्दमा सहयोग गरिदिन उनले सबै पक्षलाई अपिल समेत गरेका छन् ।
यस्तो छ प्रज्वलनको बिज्ञप्ति:
‘आदरणीय व्यवसायी र पेसाकर्मी मित्रहरू, हाम्रो पार्टी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको विषय यहाँहरूलाई अवगतै छ ।
देशमा मौलाएको भ्रष्टाचारविरुद्ध र जनअधिकारका लागि सङ्घर्ष गर्ने क्रममा राज्यबाट हाम्रो पार्टीमाथि लादिएको कठोर दमन र प्रतिबन्धको समेत सामना गर्दै अघि बढ्यौँ । हाल प्रतिबन्धको अन्त्यपछि पनि हामी हाम्रो लक्ष्य र नयाँ वैकल्पिक राजनीतिक एजेन्डाहरूसहित जनपरिचालन र आन्दोलनमै डटिरहेका छौँ । विगतका जटिल परिस्थितिहरूमा यहाँहरूबाट प्राप्त साथ र सहयोगप्रति हाम्रो पार्टी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले पैदा गरेको भयावह परिस्थिति र लकडाउनका कारण आमजनसमुदाय र देशको आर्थिक मेरुदण्ड औद्योगिक र विभिन्न व्यावसायिक क्षेत्रमा पारेको नकारात्मक प्रभाव तथा सङ्कटको अवस्थामा जनसमुदायका साथै यातायत र उद्योगी–व्यवसायीहरूलाई राहत, क्षतिपूर्ति र करछूट गर्नका लागि हाम्रो पार्टीले सरकारसँग गरेको माग र सङ्घर्षबारे पनि व्यावसायिक संस्था र मित्रहरू जानकार नै हुनुहन्छ ।
यसरी सर्वत्र कठिनाइ भोग्न बाध्य नेपाली जनता र व्यवसायीहरूको सङ्कटमा सहयोग गर्नुको सट्टा सरकार दिन–प्रतिदिन मूल्य वृद्धि गरेर जनतामा थप कष्ट थोपर्दैछ । हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ ।
सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ । यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो ।
नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।
त्यसैले मूल्यवृद्धिका विरुद्ध आह्वान गरिएको कात्तिक ३० गतेको नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’