News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized

पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन

पोखरा, १७ भदौं । भोटेकोशी बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएका पहिचान हुन नसकेका ७६ शव मंगलबार पोखरामा जमिनमुनि व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार पोखरा-१६ जौबारीमा यी शव गाडिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार शवहरू कुहिँदै गएको, लामो समयसम्म जोगाउन सक्ने अवस्था नरहेको र दुर्गन्धले अर्को महामारी निम्त्याउन सक्ने जोखिम रहेकाले व्यवस्थापन गर्नुपरेको हो। ‘पहिले दुई सातासम्म शव राख्न सकिने बताइए पनि कुहिन थालिसकेपछि जोगाउन नसकिने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘हामीले विज्ञलाई पनि सोध्यौं। ताजा शव भएको भए अलि लामो समय जोगाउन सकिने रहेछ। तर पहिले नै पानीमा भिजेको र कुहिन थालिसकेको शवलाई जोगाउन नसकिने रहेछ। त्यसरी लामो समय राख्नु अति जोखिमयुक्त हुने ठानेर व्यवस्थापन गरिएको हो।’

भोटेकोशी बाढीबाट बगेर आएका कुल १ सय २ शव अन्यत्र राख्ने स्थानको अभावमा पोखरा ल्याइएका थिए। यसमध्ये गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ शव थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएका थिए। मंगलबारसम्म २१ शव आफन्तले सनाखत गरी बुझेका छन् भने तस्बिर हेरेर दाबी गरेका थप ५ शव अझै प्रतिष्ठानमै राखिएका छन्। बाँकी शव ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको हो।

सबै शवको पोस्टमार्टम सकेर डीएनएको नमुना संकलन गरिएको एसपी कार्कीले बताए। ‘डीएनएको नमुना एक–दुई दिनमै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाउँछौं,’ उनले भने। निर्देशिकाबमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठित शव व्यवस्थापन समितिले स्थानीय तहसँगको समन्वयमा काम गरेको हो। पोखरा महानगरपालिकाले खाडल खन्न एक्स्काभेटर, स्थल घेर्ने तारजालीलगायत आवश्यक सामग्री उपलब्ध गराएको छ।

व्यवस्थापन गर्दा ४० सेन्टिमिटरको फरकमा १.५ मिटर गहिरो खाडल बनाइएको छ। हावा नछिर्ने प्लास्टिक झोलामा शव र संकेत नम्बर राखेर माथिबाट माटोले पुरिएको छ। शव पुरिसकेपछि कंक्रिटको गमला प्रयोग गरी शवको संकेत नम्बरको स्ट्यान्ड बनाइएको छ। गाडिएको स्थलको जीपीएस लोकेसनअनुसार नक्सा तयार पारिन्छ र जनावर तथा मानिसलाई जानबाट रोक्न तारजाली लगाइन्छ।

कसैले तस्बिरको आधारमा आफन्त दाबी गरेमा डीएनए रिपोर्ट नै कुनुपर्ने व्यवस्था निर्देशिकामा छ। ‘परिवारजनको पनि डीएनए प्रोफाइलिङ गरेर राखिएको हुन्छ,’ एसपी कार्कीले भने, ‘परिवारजनको डीएनए र गाडिएको शवको डीएनए म्याच भएमा उक्त स्थानबाट शव झिकेर आफन्तलाई बुझाउँछौं। आफन्तले १२ वर्षसम्म दाबी गर्न पाउँछन्।’

पोखरामा खटिएका नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक डीएनए विज्ञ विनोद न्यौपानेका अनुसार १ सय २ वटै शवको डीएनए परीक्षणका लागि दाँत र हड्डी नमुनाका रूपमा संकलन गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा यी नमुनाको परीक्षण गरी प्रोफाइलिङ गरिने छ। छोराछोरी हराएको भए आमाबाबुले, आमाबाबु हराएको भए छोराछोरीले, श्रीमान् वा श्रीमती हराएको भए श्रीमती वा श्रीमान् र छोराछोरीमध्ये एकले डीएनए नमुना दिन सक्छन्। बाबुआमा नभए दाजुभाइ, दिदीबहिनीबाट पनि नमुना संकलन गर्न सकिन्छ।

डीएनए रिपोर्ट आउन कति समय लाग्छ भन्ने एकिन नहुने न्यौपानेले बताए। ‘ताजा रगत भयो भने एक–दुई दिनमै हुने हो,’ उनले भने, ‘अहिले दाँत, हड्डीबाट निकाल्नुपर्ने हुन्छ। त्यसलाई अलि समय लाग्न सक्छ। पुनः परीक्षण पनि गर्नुपर्ने अवस्था आउन सक्छ। पहिला पनि हड्डीको केसमा दुई महिनादेखि चार महिनासम्म लागिरहेको थियो। अहिले ठूलो मात्रामा परीक्षण गर्नुपर्ने छ, पक्कै समय लाग्छ। नेपालबाहिरबाट पनि विज्ञ बोलाएर यथासक्य चाँडो रिपोर्ट दिने प्रयत्नमा छौं।’