News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

तिब्बतर्फ ताल पुन: फुट्यो

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलमा बनेको ताल फुट्यो

काठमाडौं, १२ भदौ । चीनको तिब्बत क्षेत्रमा थुनिएर बनेको ताल पुनः फुटेसँगै नेपालका उत्तरी तथा मध्य क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलमा बनेको उक्त जलाशय फुटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालतर्फका भोटेकोशी र त्रिशूली नदी प्रणालीमा पर्ने देखिएको छ।

चिनियाँ जलस्रोत मन्त्रालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बिहीबारसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको उक्त तालबाट पानी बग्न थालेपछि नेपालतर्फ बाढीको उच्च जोखिम बढेको हो। नेपाल प्रहरीले एक आपतकालीन सूचना जारी गर्दै बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ प्रस्थान गर्न अनुरोध गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको आधिकारिक जानकारी प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सम्बन्धित निकायहरूमा समन्वय बढाइएको र तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित रहन सर्कुलर जारी गरिसकिएको जानकारी दिएका छन्। छोचेन र पुरेपू खोलाहरू सीमापारिबाट बग्दै नेपालतर्फ आएपछि भोटेकोशी र त्रिशूली नदीको रूपमा प्रवाहित हुने भएकाले तटीय क्षेत्रका जिल्लाहरूमा खतराको घण्टी बजेको छ।

यसैबीच, यसअघिका बाढी तथा विपद्का घटनाहरूबाट ठूलो मानवीय क्षति भएको पुष्टि भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका ८ वटा जिल्लामा बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परिसकेको छ।
प्रहरी बुलेटिनअनुसार सबैभन्दा बढी चितवनमा १७८ जना र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको छ। त्यसैगरी, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव उद्धार टोलीले फेला पारेको छ।

तिब्बततर्फ पुनः ताल फुटेर बाढीको नयाँ जोखिम सिर्जना भएपछि प्रभावित क्षेत्रका सुरक्षा निकाय, स्थानीय प्रशासन र उद्धार टोलीलाई थप सतर्क गराइएको छ भने सर्वसाधारणलाई नदी किनारबाट टाढा रहन बारम्बार अपिल गरिएको छ।