News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जनप्रिय क्याम्पसको विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ

पोखरा, १३ असोज । विश्व पर्यटन दिवस २०२४ को अवसरमा जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट तथा पर्वतीय पर्यटन व्यवस्थापनका विद्यार्थीहरूले विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे र निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदयात्रीलाई अविरल वर्षामा पदयात्रा गरे पनि सफलताको शुभकामना दिएका थिए । विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ कार्यक्रम क्याम्पस परिसरबाट सुरु भएको थियो । शिक्षक, विद्यार्थी र नेपाल दिगो पर्यटन क्लव (एनएसटिसी) का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य केवल पदयात्रा र मनोरञ्जन मात्र नभई, पर्यावरण संरक्षण र दिगो पर्यटनको प्रवर्धन गर्नु थियो । पोखराको विश्व प्रसिद्ध शान्ति स्तूपसम्म पुगेर बाटोका फोहोर सङ्कलन गरेर स्वच्छता कायम गर्ने कामलाई प्राथमिकता दिइयो । सरसफाइ कार्यक्रमले वातावरणप्रतिको जनचेतना बढाउन सफल भएको र यसबाट स्थानीय तथा पर्यटकहरूले सकारात्मक प्रभाव ग्रहण गरेका छन् । पर्यटनको दीर्घकालीन विकासमा योगदान पु¥याउने सन्देश प्रवाह गर्न पदयात्रा र सरसफाइको काम गरिएको कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले जानकारी दिइन ।

कार्यक्रमले सहभागीहरूलाई वातावरणीय दायित्व र दिगो पर्यटनको महत्वबारे सचेत बनाउने अवसर प्रदान गरेको थियो । ‘स्वच्छ पर्यावरणका लागि पर्यटन’, ‘दिगो विकासमा हाम्रो कदम’ जस्ता नाराहरूको गुञ्जायमानबिच सयभन्दा बढी सहभागीहरूले पदयात्राका क्रममा फोहोर सङ्कलन गरिरहेका थिए । पदयात्रा र सरसफाइ कार्यक्रमका सहभागीलाई सातोरी एड्भेन्चर प्रा.लि.ले टिसर्ट र टोपी प्रदान गरेको थियो ।

शान्ति स्तूप पदयात्रा र बाटो सरसफाइ कार्यक्रमले दिगो पर्यटन र वातावरणीय संरक्षणको महत्वलाई उजागर गरेको छ । पोखराको पर्यटन क्षेत्रमा पर्यटन मात्र नभई सरसफाइ जस्ता स्थानीय गतिविधिहरूको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको तथ्यलाई यो कार्यक्रमले प्रमाणित गरेको छ । सरसफाइ अभियानले वातावरणमा स्वच्छता कायम गर्नुको साथसाथै समुदायलाई पनि एकत्रित गर्ने भूमिका खेलेको छ ।