News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

मातृभूमि सहकारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा, १८ पुस । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालक समिति, लेखा समिति, तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

क्षमता अभिवृद्धि तालिमका मुख्य प्रशिक्षक तथा सहकारी अभियन्ता सुदिप ढकालले सहकारी ऐन २०७४ को मर्म अनुसार संस्थागत सुशासन र पारदर्शिता भएन भने भावी दिनमा सहकारी सञ्चालनमा जटिलता हुने बताए ।

ढकालले सहकारीको ‘पल्स रिर्पोट’ विश्लेषण गर्दा बजारका अधिकांश सहकारी रोगी भएको तथ्य प्रस्तुत गर्दै लोभलाग्दो लाभांश वितरण गर्ने सहकारीले शेयरसदस्यको पैसालाई दुरुपयोग गर्ने हुँदा सचेत हुन आग्रह गरे । संस्थागत नीति र कार्यविधि बनाएर काम नगर्ने हो भने समस्या आइपर्ने हुँदा सहकारी सञ्चालनमा गम्भीरता अप्नाउन आग्रह गरे । उनले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम कस्तो पैसा सहकारीले निक्षेपमा लिएको छ र कर्जा लगानी गरेको छ भन्ने कुरामा स्पष्टता आवश्यक रहेको जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार मुरलीमोहन काफ्ले, भरत के.सी. अध्यक्ष चन्द्रविक्रम अधिकारी, उपाध्यक्ष हरिप्रसाद खनाल, सचिव शिवराज पौडेल, तुल्सी सिग्देलले सहकारी सञ्चालनका आफ्ना भोगाइहरू राखेका थिए । तनुहँ सम्पर्क समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराई र अमर अधिकारीले तालिम लिइसकेपछिको आफ्ना अनुभव सहभागीका तर्फबाट प्रस्तुत गरेको थिए ।

‘आर्थिक तथा सामाजिक विकासको पूर्वाधार मातृभूमि सहकारी हाम्रो आधार’ भन्ने मूल गुञ्जनका साथ वि.सं. २०६८ सालमा स्थापित मातृभूमि सहकारीले ७ सय भन्दा बढी शेयर सदस्यबिच २० करोडभन्दा बढीको कारोबार गरिरहेको छ । तनहुँ जिल्ला थाँतथलो भई पोखरामा आएर विभिन्न पेशा व्यवसाय गरी बसोबास गर्ने तनुङ्गेहरूको आर्थिक कारोबारको केन्द्रका रूपमा परिचित मातृभूमिले पछिल्लो समय कास्की जिल्लाभरि कार्यक्षेत्रको अनुमति पाएको जानकारी व्यवस्थापक श्रीराम सुवेदीले दिए ।

संस्थाका अध्यक्ष चन्द्रविक्रम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी शिक्षा तथा सूचना उपसमितका सदस्य सुरेश रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन भुवन पराजुली काफ्ले र कृष्णराज भट्टराइले गरेका थिए ।