सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ वडा कार्यालयस्थित वडाअध्यक्षको कार्यकक्षमा आगजनी गरिएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ।
आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको छ। बुधबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको वडाध्यक्ष गंगाराम सुनारले बताए।
‘वीरेन्द्रनगर वडा नं १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई कार्यालयको फोन नम्बरबाट आज बिहान १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए‘, वडाअध्यक्ष सुनारले भने, ‘आफू शुभ होटलमा एक कार्यक्रममा रहेको र केही समय लाग्ने हतार भए कागज लिएर आउन भन्दा घाँटी चिलाएको छ कि भनेर धम्क्याए।’
त्यसपछि कार्यालय सहयोगीसँग उनले पानी खाने भन्दै बोतल मागेर पेट्रोल ल्याई कार्यकक्षमा आगजनी गरेका हुन्। कर्मचारीहरूले रोक्न खोज्दा हातमा खुँडा देखार तर्साएको बताइएको छ।