काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा जारी छ । माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा जारी छ। कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । यसअघि २९ गतेका लागि पेसी तोकिएको पनि हेर्न नभ्याइएको भन्दै सुनुवाइ हुन सकेको थिएन।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाए पनि नयाँ दल दर्ता भएपछि मात्रै सभामुखले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेका थिए । सोही विषयलाई लिएर एमालेले संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।