News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

राष्ट्रिय माविका प्रधानाध्यापक तिवारीसहित ३ जना शिक्षकलाई ५ वर्षसम्म परीक्षामा संलग्न हुन प्रतिबन्ध

राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारी

पोखरा, ३० भदौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारीसहित तीनजना शिक्षकलाई पाँच बर्षसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न नहुन पत्राचार गरेको छ । साथै विद्यालयका प्रधानाध्यापक स्वतः परीक्षाको केन्द्राध्यक्ष हुने व्यवस्था भएपनि प्रधानाध्यापक तिवारीलाई हटाएर सहप्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी पनि बोर्डले सुम्पिएको छ ।

गत वर्ष कक्षा ११ को परीक्षा अमर्यादित ढंगले सञ्चालन गरेको विषयमा प्रधानाध्यापक तिवारीसहित तत्कालिन सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई संयुक्त रुपमा गत माघ २ गते बोर्डले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पत्राचार गरेको थियो । सोही घटनामा होटलमा पु¥याएर परीक्षा लिने वाहनामा छात्रामाथि शिक्षक वस्ताकोटीले जबरजस्ती करणीको प्रयास गरेको उजुरी पनि पीडित छात्राले प्रहरीमा दिएकी थिईन् ।

अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेको आरोप लागेका प्रधानाध्यापक तिवारीलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ, सहायक प्रधानाध्यापक रेग्मी र शिक्षक बस्ताकोटीलाई एकलाख ५० हजार रुपैयाँ धरौंटी तोकेको थियो । अन्य दुई शिक्षक धरौंटीमा रिहा भएपनि शिक्षक बस्ताकोटीमाथि लागेको जबरजस्ती करणी मुद्दाका कारण उनलाई पुर्पक्षका लागि कास्की कारागार पठाईएको थियो ।

गत वर्ष कक्षा ११ की एक छात्रालाई होटलको रुममा लगेर परीक्षा लिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिई कारवाही गरेको थियो । फाईल तस्विर

अमर्यादित रुपमा परीक्षा सञ्चालन गरेका प्रधानाध्यापक तिवारीसहित तीननजाको विषयलाई लिएर बोर्डले भदौं २५ गते राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखरालाई पत्राचार गरेको थियो । प्रधानाध्यापक तिवारीसहित शिक्षकद्वय रेग्मी र वस्ताकोटीलाई आगामी पाँच वर्षसम्म परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारी नदिन बोर्डले निर्णयसहितको पत्राचार पठाएको गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

बोर्डको निर्णय अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा सहायक प्रधानाध्यापक शिवभक्त देवकोटालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको हो ।  स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा बोर्डले आजबाट विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ ।

अटेरी प्रधानाध्यापक :
राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका प्रधानाध्यापक सूर्य तिवारी आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा मुख्य प्रवेशद्वारमा बसेर काम गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डको निर्णय र पत्राचार अनुसार प्रधानाध्यापक तिवारी लगायतका ३ जना शिक्षकहरु परीक्षाका कुनै पनि गतिविधिहरुमा ५ बर्षसम्म संलग्न हुन पाउँदैनन् । तर बोर्डको निर्णयलाई लत्याउँदै अभिभावक, विद्यार्थी र विद्यालयलाई नै गुमराहमा पार्ने गरी प्रधानाध्यापक तिवारीले यसरी परीक्षाको समयमा विद्यालयमा चहलपहल दिने काम गरिहेका छन् ।

‘अपराधमा पनि राजनीति गर्नेहरुले कुकर्म गर्नेहरुलाई उचाल्दा यस्तो स्थिति आएको हो,’ एकजना अभिभावकले भने–‘प्रधानाध्यापकले अहिले पनि जबरजस्ती हामी अभिभावक, विद्यार्थी र बाहिरी जनमानसमा भ्रम छर्ने काम गरिरहेका छन् ।’ तत्कालै राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराले अनुगमन गरी प्रधानाध्यापक तिवारीलाई कारवाही गर्नुपर्ने अभिभावकहरुको माग छ ।

एक अभिभावकले भने–‘छात्रालाई होटलको रुममा लगेर परीक्षाका नाममा बलात्कारको प्रयास गर्नेहरु राजनीतिक संरक्षणका कारण अझै दम्भ प्रदर्शनमा उत्रिरहेका छन् । अलिकति नैतिकता हुने हो भने अरुले भनिरहनु पर्ने विषय नै होइन । आफैंलाई लाज लाग्नुपर्ने हो ।’ राष्ट्रिय मावि भित्रको राजनीतिक चलखेलका कारण गलत गतिविधि गर्नेहरुले समेत संरक्षण प्राप्त गरिरहेका छन् । जसले गर्दा विद्यालयको छवि र विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया