News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

सुजल डेरीका अञ्जन श्रेष्ठमाथि अनुसन्धान सुरु, पक्राउ पर्नेको संख्या ९ पुग्यो

काठमाडौं, २८ कार्तिक । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा भएको १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको दायरा थप फराकिलो बनाएको छ। यसै क्रममा ब्युरोले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गर्नुका साथै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ र उनी सम्बद्ध सुजल डेरीमाथि समेत गम्भीर छानबिन सुरु गरेको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार जिल्ला अदालत काठमाडौंको अनुमतिमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो। संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीहरूको पूर्वयोजना र सङ्गठित सञ्जालमार्फत डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुजल डेरी र अञ्जन श्रेष्ठको संलग्नतामाथि छानबिन:
प्रहरीको अनुसन्धान अघि बढ्दै जाँदा डीडीसीको कुल भ्रष्टाचारमध्ये करिब ५ करोड रुपैयाँ बराबरको नोक्सानी सुजल डेरी एक्लैले गराएको तथ्य सतहमा आएको छ। स्रोतका अनुसार केही वर्षअघि सुजल डेरीले डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झासँगको मिलेमतोमा ५० टन (५० हजार किलो) मक्खन (बटर) बजार मूल्यभन्दा अस्वाभाविक रूपमा सस्तोमा खरिद गरी राज्यलाई करिब ५ करोड रुपैयाँ घाटा पुर्‍याएको थियो। हाल बजारमा बटरको मूल्य प्रतिकिलो करिब एक हजार रुपैयाँ रहेको छ।

त्यसैगरी, सुजल डेरीले डीडीसीबाट ठूलो परिमाणमा दुग्धजन्य पदार्थ लगेर लामो समयसम्म भुक्तानी नदिएको विषयमा समेत सीआईबीले खातापाताको गहिरो अडिट गरिरहेको छ। सुजल डेरीका म्यानेजर दर्शन सिलवालले बटर खरिद गरेको स्वीकार गरे पनि यकिन बक्यौता नखुलाएको अनुसन्धान अधिकारीहरूको दाबी छ। देशकै ठूलो व्यावसायिक छाता संगठन महासंघको नेतृत्व गरिरहेका श्रेष्ठको कम्पनीबाटै सरकारी संस्थाको दोहन हुनुले निजी क्षेत्रको कर्पोरेट सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। सीआईबीले सन् २००४ मा सुजल डेरीले पोखरास्थित सरकारी डेरीको सम्पत्ति अधिग्रहण गरेको विवादास्पद प्रक्रियालाई समेत छानबिनको दायरामा तानेको छ।

पक्राउ पर्नेको संख्या ९ पुग्यो :
डीडीसीको करोडौं अनियमितता प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। यसअघि कात्तिक ३ गते सीआईबीले दोहोरो भुक्तानी (डबल पेमेन्ट) तथा मिलेमतोमा अनियमितता गरेको आरोपमा डीडीसीका पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्ने अन्य अधिकारीहरूमा तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज मनहरी शर्मा, चनौली चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज रामकेवल राय, बागमती धुलो दूध कारखाना हेटौंडाका जितेन्द्रकुमार यादव, नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी र सोही केन्द्रमा कार्यरत शिवनन्दन राय रहेका छन्।

पक्राउ परेका सबैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ। घोटाला भएको बाँकी करिब ७ करोड रुपैयाँ अन्य व्यक्ति तथा कम्पनीहरूसँग जोडिएको भन्दै सीआईबीले त्यसतर्फ पनि अनुसन्धानलाई तीव्रता दिएको छ।

डनन्यूज ट्रेन्डिङ