News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

पोखरा, २६ कार्तिक । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाँटीछिनाबाट पोखरा आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते १३ जनालाई उद्धार गरी पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेका पर्वत घर भई हाल पोखरा-२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको आज बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरूमा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा–२३ का १४ वर्षीय अमित सुनार, घाँटीछिनाकी १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री छन्।

घाइतेहरूको अवस्था मध्यम रहेको र टाउको, हात तथा खुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले बताएको छ।

जिपका चालक पोखरा-२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

डनन्यूज ट्रेन्डिङ