News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति प्रमुख समाचार राजनीति

‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्दै म्हः पूजाको मर्म अति गहिरो भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भनेका छन्, “नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्हः पूजा’को मर्म अति गहिरो छ। ‘म्हः’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।”

प्रधानमन्त्रीले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्। ऐतिहासिक परम्पराअनुसार सन् ८७९ मा (कार्तिक शुक्ल प्रतिपदा) काठमाडौंका व्यापारी शंखधर साख्वाःले तत्कालीन राजा राघवदेवको शासनकालमा जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गरेका थिए।

उनले विष्णुमती नदीको बालुवाबाट सुन प्राप्त गरेर सम्पूर्ण जनताको ऋण तिरिदिएको किंवदन्ती प्रचलित छ। यसै कार्यको स्मरणमा नयाँ संवत् चलाइएको मानिन्छ। यो संवत् नेपालको मौलिक चन्द्रमा आधारित पात्रो हो र यसलाई राष्ट्रिय पहिचानसँग जोडेर हेर्ने गरिन्छ। वि.सं. २०५६ मा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो।

प्रधानमन्त्रीले गोवर्द्धन पूजा तथा तिहारको महत्त्व पनि स्मरण गरेका छन्। उनले भनेका छन्, ‘आजैका दिन भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बाबर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्द्धन पूजा तथा हली तिहार मनाइन्छ।’

त्यस्तै, हिजो भैलोका मिठो भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्।

यसरी प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत्, म्हः पूजा र गोवर्द्धन पूजालगायतका पर्वहरूलाई नेपाली समाजको मौलिक पहिचान, सांस्कृतिक एकता र आत्मिक शुद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै सबैलाई शुभकामना दिएका छन्।