News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो

घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन

मकवानपुर, २६ कार्तिक । भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी) दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् भने घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । चालकसहित २० जना सवार उक्त गाडी दुर्घटना हुँदा सुरुमा ११ जनाको मृत्यु भएको पुष्टि भए पनि खोज तथा उद्धारका क्रममा घटनास्थलमा थप तीन पुरुषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पछिल्लो पटक फेला परेका तीन शवको पहिचान खुल्न बाँकी छ । पहिचान खुलेका ११ जनामध्ये चालक सर्लाहीको कविलासी नगरपालिका-८ का करिब ३० वर्षीय रविशंकरकुमार मण्डल रहेका छन् । अन्य १० जना मृतक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरटोलका एकै गाउँ र परिवारका सदस्यहरू हुन् । जसमा ३५ वर्षीया पुनम यादव, उनका तीन छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव रहेका छन् ।

त्यसैगरी, सोही टोलका ३५ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय विकेश यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । एकै टोलका बालबालिकासहित यति ठूलो संख्यामा स्थानीयको मृत्यु भएपछि सुन्दरपुरटोल यतिबेला गहिरो शोकमा डुबेको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि सामान्य अवस्थामा हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् । गम्भीर तथा मध्यम चोट लागेका अन्य तीन घाइतेलाई भने हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको छ ।

प्रहरीका अनुसार टाउको र शरीरका विभिन्न भागमा चोट लागेका ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय यादवलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ । यस्तै, दुर्घटनामा श्रीमती र तीन छोरी गुमाएका अवधेश यादवका १४ महिने छोरा सुदीप यादव र टाउको तथा मुखमा चोट लागेका तीन वर्षीय सुजन यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ ।

दुर्घटनालगत्तै बागमती प्रदेश प्रहरी गण हेटौँडाबाट प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको कमान्डमा १३ जना, विपत् व्यवस्थापन गुल्म थानाभर्याङबाट चार जना तथा सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएर खोज तथा उद्धार कार्य गरेको थियो ।

यसैबीच, १४ जनाको ज्यान जाने गरी भएको उक्त दर्दनाक दुर्घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, बागमती प्रदेश पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीका अनुसार समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिले सवारीमा क्षमताभन्दा बढी यात्रु राखिए/नराखिएको, रुट इजाजत, चालकको शारीरिक तथा मानसिक अवस्था र सडकको भौतिक पूर्वाधारबारे सूक्ष्म अनुसन्धान गरी दुर्घटना न्यूनीकरणका तत्कालीन र दीर्घकालीन सुझाव पेस गर्नेछ । भीमफेदी-देउराली सडकखण्डमा पछिल्लो १३ महिनाभित्रै तीनवटा ठूला दुर्घटना भइसकेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै पर्याप्त नभएको र सडक सुरक्षामा तत्काल ठोस सुधार आवश्यक रहेको बताए ।

डनन्यूज ट्रेन्डिङ