News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति प्रमुख समाचार

आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने

पोखरा, २५ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक)को पाँचौं तथा अन्तिम दिन आज भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य तथा ऐश्वर्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिनेछन्। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई गच्छेअनुसार कपडा, दक्षिणा वा उपहार दिएर सम्मान प्रकट गर्ने चलन छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका आज दिनभर लगाउन कुनै बाधा छैन। साइत खोज्नेहरूका लागि भने बिहान ११:०७ बजेको अभिजित मुहूर्त उत्तम रहेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि दिनभर टीका लगाउन सकिन्छ भने राज्य सञ्चालकले शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

टीका लगाउनुअघि लक्ष्मी पूजाका दिन स्थापना गरिएका दियो, कलश र गणेशको पूजा गरिन्छ। मूल थालीमा अष्टदल लेखेर मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज लगायतका देवताको पूजाआराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री वा गोदावरीका माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने परम्परा छ।

दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पूजा-दर्शन गरी टीका लगाउने प्रचलन छ।

काठमाडौं महानगरपालिकाले आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो चलन छ।

नेवार समुदायले भाइटीकालाई ‘किजापूजा’ का रूपमा मनाउँछन्। कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन नै किजापूजा गर्ने गर्छन्। भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन्।