News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पोखरा-२६ को सिलिङ्गेमा महाशिवरात्री मेला सम्पन्न

पोखरा, १४ फागुन । पोखरा महानगरपालिकाको वडा नंं २६ को सिलिङ्गेमा १५ औं सिलिङ्गे महाशिवरात्री मेला बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

महाशिवरात्री मेलाको उद्घाटन गर्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सिलिङ्गे स्थित जटाशंकर धार्मिक क्षेत्रको विकासका लागि बृहत गुरुयोजना तयार गरेर अगाडी बढेको बताउनु भयो ।

वडाध्यक्ष थापाले गुरुयोजना अनुसारका कामहरुलाई आंशिक रुपमा पुरा गरिदै लगिएको उल्लेख गर्दै यस बर्ष एक करोडको लागतमा शिवलिङ्ग निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।

यस बर्ष ५० लाख रुपैया विनियोजन भएको बताउँदै वडा अध्यक्षले थापाले नपुग रकमका लागि दाता खोज्ने कार्य भैरहेको उल्लेख गर्नु भयो । लेखनाथ र पोखराका क्षेत्रबाट देखिनेगरी विशाल शिवलिङ्गको निर्माण गरी धार्मिक पर्यटनसँग जोडिने अध्यक्ष थापाले बताउनु भयो ।

कार्यक्रममा हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगानाले सिलिङ्गको विकासका लागि बनेको गुरुयोजनाका काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । व्यवसायी ढुंगानाले शिवलिङ्ग निर्माण कार्यमा आफु सम्वद्ध कम्पनीका तर्फबाट सहयोग जुटाउने समेत बताउनु भयो ।

महाशिवरात्रीको अवसर पारेर जटाशंकर मन्दिर परिसरमा निर्माण भएको महादेवको मूर्तिको समेत अनावरण गरिएको छ ।
मन्दिर परिसरको फाउण्टेन पार्कमा राखिएको महादेव मूर्तिको पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापा र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति जर्नेल मधुकर सिंह कार्कीले संयुक्त रुपमा अनावरण गर्नु भएको हो ।

महादेवको मूर्ति पोखरा महानगरपालिका वडा नं. २६ का वडासदस्य तिर्थबहादुर राजभाटका परिवारले आफ्ना स्वर्गिय पिता चुडामणि राजभाटको स्मृतिमा निर्माण गर्नु भएको थियो ।

जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भगवती हाइड्रो पावरका संचालक इन्जिनियर बसन्त मोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय समाजसेवी चन्द्रबहादुर रानाभाट, हरिप्रसाद अधिकारी र विकास रानाभाट लगायतले जटाशंकर मन्दिर निर्माण र व्यवस्थापनका बिषयमा बोलेका थिए ।