– प्रताप पौडेल
कुशासन र बेथितिले धर्ती,
ढाकेको बेला
समृद्धिका चन्द्र र सुर्य,
थाकेको बेला
सुस्त सुस्त गर्दै
हिमालका हिउँ पग्लदै जाँदा
के हेर्दैछन् युवा ?
भ्रष्टाचारी तस्कर देशमा,
चरेको बेला
पटकपटक सत्य र न्याय,
मरेको बेला
मन्द मन्द गर्दै
असत्यले अत्तर छर्दै जाँदा
के हेर्दैछन युवा ?
राजनीतिमा अपराधिकरण,
बढेको बेला
सत्ता र भत्तामा शक्ति,
गडेको बेला
बिस्तारै बिस्तारै
अन्धकारले ज्योति निभाउँदै जाँदा
के हेर्दैछन् युवा ?
महंगि र बेरोजगारीले,
थिचेको बेला
छिमेकीले दिनहुँ सिमाना,
मिचेको बेला
घिटी घिटी गर्दै
अस्तित्वले प्राण फाल्दै जाँदा
के हेर्दैछन् युवा ?
अब त ढिला भो,
उठ्ने बेला भएन र ?
अहिले नगरे कैले गर्ने,
जुट्ने बेला भएन र ?
सिमलको भुवा सरि
संघर्षले बिउ छर्दै जाँदा
के हेर्दैछन युवा ?
(२०८१–०७–२९)