News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

रुम्जामा चोरी तथा डकैती गर्ने ४ जना मानिसहरु पक्राउ

पोखरा, १७ साउन । माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जामा शशिधर काफ्लेको घरमा चोरी तथा डकैती गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते ४÷५ जनाको समूहमा आएर धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना, पैसा र मोवाइल लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक बस्ने ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही गाउँपालिका वडा नं. २ भराभरी बस्ने ५१ वर्षीय खड्क बहादुर पुनमगर, पोखरा वडा नं. २१ का ५८ वर्षीय लोकबहादुर रानामगर र पोखरा वडा नं. ३ नदिपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।

उनीहरुले राति ८ः३० बजेको समयमा धारिलो हतियार देखाई सुनका गरगहनामा सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान र रिङ ३ जोर, नगद १ लाख ७३ हजार र एउटा मोवाइल लुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

चोरी भएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरे पश्चात् नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका ४ जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिप्रका कास्कीका प्रवक्ता शर्माले बताए ।