पोखरा, ५ पुस । अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँचवटा ट्रिपरहरु जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । नयाँ प्रहरी प्रमुख मोहनकुमार थापा आएलगत्तै नदीजन्य पदार्थ चोरी गर्ने ट्रिपर र सवारीसाधनमा प्रहरीले निगरानी बढाई रहेको छ ।
ढुङ्गा, गिटी, बालुवा चोरी गरी पोखरातर्फ आउँदै गरको गोप्य सूचनाको आधारमा पोखरा–१९, चितेपानीमा प्रहरीले ५ वटा ट्रिपरहरु नियन्त्रणमा लिएको हो । ग१ख १७८, ग१क १५१४, ग२ख ७७, ग१ख ५८६७ र ग१ख ८४२९ नम्बरको ट्रिपरले बिना कागजपत्र र अनुमति नदीजन्य पदार्थ चोरी निकासी तथा ओसारपोसार गरेको भेटेपछि आवश्यक अनुसन्धान एवं कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।