News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजित दुई दिने प्रदेशस्तरीय पुरुष खुला आर्चरी प्रतियोगिताको पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ ।

पोखरा, २४ पुस ।  गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ देखि पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनलमा म्याग्दीकै उमेश तिलिजालाई फाइनल ‘सेट प्वाइन्ट’मा ६–२ अङ्कले पराजित गर्दै उहाँ च्याम्पियन बन्नुभयो ।

उपाधिसँगै पुनले नगद रु २५ हजार प्राप्त गर्नुभयो भने उपविजेता तिलिजाले रु २० हजार प्राप्त गर्नुभयो । उपाधि विजेता पुनले पहिलो दिनको ‘¥याङकिङ राउण्ड’मा २७७ अङ्क हान्दै नकाउट चरण प्रवेश गर्नुभएको थियो । नकाउट चरणमा पनि उहाँले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल हुनुभएको प्रतियोगिताका संयोजक एवं सङ्घका उपाध्यक्ष बसन्त गौचन(साकुरा)ले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगिताको तृतीय स्थानमा म्याग्दीका राजु खोर्जा पुनले कास्कीका पूर्ण गौचनलाई ७–१ अङ्कको सेट प्वाइन्टले पराजित गर्दै नगद रु १५ हजार प्राप्त गर्नुभयो । गौचन प्रतियोगितामा चौथो स्थानमा रहँदै नगद रु १० हजार पुरस्कार पाउनुभयो । यसैगरी ६० वर्षमाथिको भेट्रान्सतर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अङ्क जोड्दै प्रथम स्थान हासिल गर्नुभयो ।

तीन गाउँले थकाली समाजका बुद्धि थकाली २२५ अङ्कसहित द्वितीय र मनाङ समाजका छोर्तेन गुरुङ २२३ अङ्कसहित तृतीय हुन सफल हुनुभयो । भेट्रान्सतर्फको प्रतिस्पर्धामा सात खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ गरी १६ जना खेलाडीलाई राष्ट्रिय खेलकुदका लागि बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगन्द्र शेरचनले बताउनुभयो ।

प्रतियोगिताका संयोजक गौचनका अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक टोलीमा छनोट गरिएको छ । छनोट भएकामध्येबाट स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा चार खेलाडी राष्ट्रिय खेलकुदमा छनोट गरिने बनाइन्छ ।

प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी सङ्घका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो ।